‘धुन्धुकारी’ रवि लामिछाने पक्राउ, दुई सहयोगी पनि गिरफ्तार

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल पक्राउ परेका छन् ।

लामिछाने र कँडेललाई काठमाडौंबाट प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । लामिछाने र कँडेलले न्युज २४ टेलिभिजनमा कार्यक्रम चलाउँदै आएका छन् ।

उनीहरूलाई काठमाडौंको लाजिम्पाटस्थित न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पत्रकार पुडासैनीलाई ज्यान दिन दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चितवनको एक होटलमा पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको थियो । त्यसको भोलिपल्टै प्रहरीले सञ्चारकर्मी लामिछाने र कँडेललाई गिरफ्तार गरेको छ ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनीको शव झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा लामिछानेले आफूलाई ज्यान दिन बाध्य बनाएको आरोप लगाएका थिए ।

पुडासैनीको सोही भिडियो बयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनता’सँग कार्यक्रम सञ्चालक लामिछाने र सोही कार्यक्रममा कार्यरत कँडेललाई पक्राउ गरेको छ ।

पत्रकार पुडासैनीले लामिछाने, कँडेल र कार्कीले आफूलाई ज्यान दिन दुरुत्साहन गरेको आरोप लगाएका थिए ।

साउन २२ गते दिउँसो ३:३० बजे होटलको २०२ नम्बर कोठामा गएका पुडासैनीलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए ।

सञ्चारकर्मी लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको छ ।

नर्स कार्कीलाई पक्राउ गरिएको नभएर संरक्षण गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले नियन्त्रणमा लिनुपूर्व अस्मिताले न्युज २४ लाई अन्तर्वार्ता दिन लागेकी थिइन् । अनुसन्धानलाई प्रभाव पार्ने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गरी ती युवतीसँग अन्तर्वार्ता लिन खोजेपछि कार्कीलाई संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2019 August 15, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया