‘भ्रष्ट’ राजदूत शर्मिला र भीमलाई फिर्ता बोलाइँदै

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने प्रक्रिया शुरू गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यानमारका लागि नेपाली राजदूत भीमकृष्ण उदास र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाललाई तत्काल फिर्ता बोलाउने प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश गरेका छन् ।

स्रोतका अनुसार दुबैलाई छिटो फिर्ता बोलाएर सत्तारुढ नेकपा निकटका व्यक्तिलाई राजदूत बनाएर पठाइनेछ ।

राजदूतद्वय उदास र ढकालको कार्यसम्पादन राम्रो नभएको परराष्ट्र मन्त्रालय निकट उच्च स्रोतले जनाएको छ ।

उनीहरूले पदीय दुरुपयोग गरी आर्थिक लाभ लिएको आरोप छ । ओमानका लागि नेपाली राजदूत ढकालले राजदूत बन्न दुई करोड रुपियाँ तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई बुझाएको चर्चा चलेको थियो । ढकाल वैदेशिक रोजगार व्यवसायी पनि हुन् ।

नेकपाकै नेताहरूले उदास र ढकालर्लाइ तत्काल फिर्ता बोलाउन दवाव दिएका छन् । परराष्ट्रमन्त्री ज्ञवाली पनि उदास र ढकाललाई फिर्ता बोलाउन तयार भएपछि प्रस्ताव अगाडि बढेको हो ।

सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाउने क्रमलाई निरन्तरता दिएको छ ।

सरकारले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

Published : Thursday, 2019 August 15, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया