दुई वर्षपछि सभापति देउवाको बोल्ड निर्णय

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका १ हजार २ सय स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

ललितपुरको सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत अनुशासन समितिको कार्य प्रगतिसम्बन्धी प्रतिवेदन पारित गरेपछि कारत्राही प्रक्रिया अघि बढ्नेछ ।

समितिले पत्र काटेको ३५ दिनभित्र अनुशासन समितिमा स्पष्टीकरण दिनुपर्नेछ ।

अन्तरघातीहरूलाई कारबाही गर्न चासो नदेखाएको भनेर आरोप लागिरहेका बेला सभापति शेरबहादुर देउवाले बोल्ड निर्णय गराएका छन् ।

केन्द्रीय सदस्य भीष्म आङदेम्बेको नेतृत्वमा गठित अनुशासन समितिले आरोपित सबैलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको हो ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार, प्रस्तावक, समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार बनेका र तिनका प्रस्तावक र समर्थक नेता तथा कार्यकर्तालाई भने यसअघि नै पार्टीबाट ५ वर्षका लागि निष्कासन गरिएको छ ।

विधानमा यस्ता व्यक्तिहरू स्वतः पार्टीबाट निष्कासन हुने व्यवस्था छ । ३२ जिल्लाका २ सय ९८ जना यसरी निष्कासन भएका हुन् ।

समितिले स्वतः निष्कासन हुनेबाहेकका उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।

समितिले यसअघिका उजुरी तथा गुनासोलाई समेत छानबिनको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउने छ ।

०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अन्तर्घात गरेकाहरूविरुद्ध तत्कालीन समितिले कारबाहीको प्रक्रिया अघि बढाउँदाबढाउँदै छाडेको थियो ।

तत्कालीन समितिले कारबाही गर्नुपर्ने भनी किटान गरेका १ सय ५४ मध्ये २४ जनाले मात्रै स्पष्टीकरण दिएका थिए ।

७७ जिल्लामध्ये २८ जिल्लाबाहेक सबैबाट कारबाहीको उजुरी अनुशासन समितिमा परेको छ । ती उजुरीलाई समितिका सदस्यहरूले डेढ महिना लगाएर अध्ययन गरेका थिए ।

नेपाली कांग्रेसले मंसिर १४ गते ३६ जिल्लाका रिक्त विभिन्न पदमा हुने उपनिर्वाचनका लागि पार्टीबाट केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ ।

प्रतिनिधिसभाको १, प्रदेश निर्वाचन क्षेत्रको ३ सहित स्थानीय तहमा रिक्त पदको निर्वाचन हुँदै छ ।

त्यसका लागि केन्द्रीय प्रतिनिधि खटाएर माहोल पक्षमा ल्याउन कांग्रेस केन्द्रीय सदस्यहरूले बैठकमा नेतृत्वलाई सुझाव दिएका थिए ।

Published : Thursday, 2019 August 15, 8:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया