निर्मला प्रकरणमा कम्युनिस्ट सरकार असफलः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल भएको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वकप्रकाश शर्माले बिहीबार साँझ विज्ञप्ति जारी गरेर प्राकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्नसमेत सरकार असफल भएको बताएका छन् ।

निर्मला पन्त प्रकरणबारे मंगलबार आयोजित पत्रकर सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिलाई पनि कांग्रेसले गैर जिम्मेवार भनेको छ ।

‘निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैह्र जिम्मेवार जवाफ दिएर सरकारको कर्तव्य पूरा हुन्न’, विज्ञप्तिमा भनिएको छ ।

कन्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

नेपाली कांग्रेसले एक वर्षका बीचमा सरकारले दोषी जोगाउने प्रपन्च, निर्दोषलाई दोषी ठहर्‍याउने प्रयत्न गरेको पनि आरोप लगाएको छ ।

सरकार एक्सनमा भन्दा भाषणमा बढी भेटिएको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले समेत गैर जिम्मेवार अभिव्यक्ति दिएको बताए ।

‘नेपाली कांग्रेस प्रश्न गर्न चाहन्छ संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट न आपत्तिजनक छ नै, जिम्मेवार राज्यको अभिमत के यस्तो हुन मिल्छ ?’, प्रवक्ता शर्माले भनेका छन्, ‘ सरकारले प्रहरीलाई पनि बदनाम गर्ने षड्यन्त्र गरेको कांग्रेसको आरोप छ ।

000

श्रावण ९, २०७६

— निर्मला पन्त प्रकरणको एकवर्षमा —

नेपाली कांग्रेसको ७ वुँदे विज्ञप्ति

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज साउन ९ गते एकवर्ष पुरा भएको छ । यो घडी उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेस निर्मलाका मातापिता लगायत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

एकवर्षका बीचमा दोषीको पहिचान हुन नसक्नु दुःखद त छ नै, यस्तो प्रकृतिको घटना झनै बढेर जानु अझ दुःखद छ । प्रमुख प्रतिपक्षी दलका रुपमा नेपाली कांग्रेसले यो र यस्ता घटना बारे संसद, मिडिया र सार्वजनिक कार्यक्रम लगायत विविध माध्यमबाट निरन्तर आवाज उठाउँदै आएको छ । निर्मला प्रकरण एकवर्ष पुगिरहँदा नेपाली कांग्रेस यस सम्बन्धमा श्रृखंलावद्ध ढंगले भएको सरकारी कृयाकलापको वास्तविक दृश्य चित्र राख्दै सरकारलाई ऐना देखाउन चाहन्छ ।

१. दोषी जोगाउने प्रपन्च

निर्मला पन्तको शव भेटिएको स्थलमा रहेका तथ्यहरु सुरक्षित ढंगले संकलन गरिनु पर्नेमा प्रमाण नष्ट गर्ने ढंगले कपडा लगायत धोइनु दोषी जोगाउने प्रपन्चको खुलेआम प्रस्तुति नभई के थियो भन्ने जवाफ आजसम्म प्राप्त छैन ।

२. निर्दोषलाई दोषी ठह¥याउने प्रयत्न

घटनाको केही दिनपछि दोषीका रुपमा सार्वजनिक गरिएका दिलिपसिं विष्ट मानसिक सन्तुलन गुमाएको नागरिक रहेका सत्य खुल्यो । केही महिनापछि सरकारको ठम्याइएका दोषी १८ वर्षे विशाल चौधरी घटना भन्दा दुईदिन अघि कुखुरा चोरीको अभियोगमा कञ्चनपुर हिरासतमै रहेको तथ्य खुल्यो ।

३. जनप्रदर्शनमा मारिए बालक

दोषीमाथि कार्वाहीको माग गर्दै कञ्चनपुरमा भएको जनप्रर्दशनलाई संयमतापूर्वक विश्वासमा लिनु भन्दा सरकारले दमनको नीति अख्तियार ग¥यो । प्रहरीको गोली लागेर कलिला बालक सनि खुना मारिए । दर्जनौ घाइते भए ।

४. गैह्र जिम्मेवार अभिव्यक्तिहरू

यो प्रकरणमा सरकार एक्सनमा कम भाषणमा बढी भेटियो । स्वयं प्रधानमन्त्रीकै विवादास्पद अभिव्यक्ति टेलिभिजन अन्तरवार्ता मार्फत आयो भने वर्षदिन पुग्नै लाग्दा गृहमन्त्रीको जिम्मेवार ओहोदाबाट गैह्र जिम्मेवार विचार प्रस्तुत भयो ‘यस्तो विगतमा पनि भयो, आज पनि भइरहेको छ र भविष्यमा पनि हुनेछ’ । नेपाली कांग्रेस प्रश्न गर्न चाहन्छ संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट न आपत्तिजनक छ नै, जिम्मेवार राज्यको अभिमत के यस्तो हुन मिल्छ ?

५. प्रहरीलाई बदनाम गराउने षडयन्त्र

अपराध अनुसन्धानको दक्षताका दृष्टिले दक्षिण एशियामा अग्रपंक्तिमा नाम आउने नेपाल प्रहरी यो प्रकरणमा असफल भएको हो या सरकारको नियतवश सफल हुन नदिइएको हो ? यो गम्भीर प्रश्न वर्षदिन पुगिरहँदा हामी यसकारण उठाइरहेका छौं किनकि यो प्रकरणमा सरकारले प्रस्तुत गरेको व्यवहार प्रहरीलाई सफल बन्न दिनेतर्फ कम घटनाको ढाकछोप गर्ने नियततर्फ विशेष सर्तकता देखियो ।

६. सरकार असफल

अन्ततः एक वर्षको संक्षिप्त निष्कर्ष हो सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल भएको छ र यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्न समेत असफल भएको छ ।

७. गम्भीर वहसको खाँचो

निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैह्र जिम्मेवार जवाफ दिएर सरकारको कर्तव्य पुरा हुन्न । निर्मला प्रकरण वर्षदिन पुगिरहँदा नेपाली कांग्रेस यस्तो जघन्य अपराधका पछिल्तिरको सामाजिक मनोविज्ञान, प्रशासनिक कमजोरी, कानूनी सचेतताको व्यापकता, राज्यको गहन जिम्मेवारी, राजनैतिक दलहरुको साझा कर्तव्य र संचार माध्यम लगायत सिंगो समाजको भूमिका एवं दायित्व बारे विशेष बहषको आवश्यकता औल्याउन चाहन्छ । निर्मला पन्तको आत्मालाई शान्तिको कामना यही इमानदार प्रयत्नबाट मात्रै हुन सक्दछ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा

प्रवक्ता

Published : Thursday, 2019 July 25, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया