‘विप्लव’का छोराका गतिविधि राेक्न एसपी मल्लका हात कामे
भरतपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सरकारले प्रतिबन्ध लगाएको छ ।
विप्लवका कार्यकर्ताहरूले भोजपुरमा गोली हानेर एक जना प्रहरीको हत्या समेत गरिसकेका छन् । उनीहरूको अराजकता बढ्दै गइरहेको प्रहरीकै भनाइ छ ।
विप्लव नेतृत्वको नेकपाले देशभरि चन्दा आतंकदेखि धम्की, जनप्रतिनिधिहरूलाई राजीनामा गर्न दवाव, गाउँपालिका र नगरपालिकामा आगजनी, बम बिष्फोट र अन्य गैरकानूनी क्रियाकलाप गर्दै आइरहेका छन् ।
यस्तो अवस्थामा विप्लवका छोरा प्रकाश चन्द भने चितवनको भरतपुरमा खुलेआम गतिविधि गर्दै आएका छन् । उनी भरतपुरमा रहेको चितवन मेडिकल कलेजको होस्टेलमा बसेर आफ्नो बुबा नेतृत्वका नेकपालाई सहयोग गर्न अनेक तानाबुना बनाइरहेका हुन् ।
विप्लव भूमिगत छन् । बुबाको कथित क्रान्तिलाई प्रकाशले खुलेआम सहयोग गर्दै आएको उनका हरेक गतिविधि र क्रियाकलापले पुष्टि गर्दै आएको छ ।
विप्लवले भरतपुरस्थित चितवन मेडिकल कलेजमा छोरा प्रकाशलाई एमबीबीएस पढाएका छन् । प्रकाशको एमबीबीएसको पढाइ पनि सकिएको छ ।
एमबीबीएस पढाइ पूरा गरेर प्रकाशले प्रशिक्षार्थी चिकित्सकका रुपमा कार्यरत छन् । प्रतिबन्धित नेकपालाई सघाइरहेको प्रकाशका भाषण र गतिविधिहरूले देखाएको छ ।
उनले एक महिना अगाडि कपिलवस्तुस्थित आफ्नै गाउँमा पुगेर स्वास्थ्य शिविर नै चलाएका थिए । चिकित्सकको आडमा प्रकाशले आफ्नो बुबाले नेतृत्व गरेको नेकपालाई सहयोग गरेर खुलेआम राज्यलाई चुनौती दिएका हुन् ।
विप्लव नेतृत्वको नेकपा निकट मानिने जनस्वास्थ्यकर्मी संगठनको ब्यानरमा प्रकाशले स्वास्थ्य शिविर चलाएका थिए ।
प्रकाशको यो कार्यको चितवनको प्रहरी प्रशासनलाई जानकारी छ । तर, प्रकाशका गतिविधिहरूलाई चितवन प्रहरीका प्रमुख एसपी दानबहादुर मल्लले नदेखेको जस्तो गरेर छुट दिएका छन् ।
भरतपुर महानगरपालिकाको वडा कार्यालयमा भएको बम विष्फोटमा प्रकाशकै हात रहेको प्रहरीले तयार पारेको रिपोर्टमा उल्लेख छ । बम विष्फोटपछि भूमिगत भएका प्रकाशलाई माओवादी पृष्ठभूमि भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ठूला नेताहरूको साथ रहेको स्रोतको भनाइ छ ।
तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक रहिसकेका चितवनका प्रहरी प्रमुख एसपी मल्लले प्रकाशका गतिविधिलाई किन छुट दिइरहेका छन् भनेर धेरैले प्रश्न उठाएका छन् ।
गृहमन्त्री रामबहादुर थापाको एक जना सल्लाहकारले भने, ‘प्रकाश चन्दका गतिविधिका बारेमा गृहमन्त्रालयमा समेत जानकारी आएको छ । चितवनका प्रहरीले के हेरेर बसेको छ हामी पनि अनभिज्ञ छौं ।’
प्रकाशका गतिविधिका बारेमा आइजीपी सर्बेन्द्र खनालसम्म कुरा पुगेको छ ।
प्रकशलाई चितवनका मेडिकल कलेजहरूले पनि औषधि लगायत आर्थिक र भौतिक सहयोग गरेर साथ दिँदै आएका छन् । विप्लव निकटको स्वास्थ्यकर्मीहरूको ब्यानरमा प्रकाशद्वारा कपिलवस्तुमा गरिएको स्वास्थ्य शिविरको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजलगायतले आर्थिक, भौतिक र औषधिहरूमा सहयोग गरेका थिए ।
औषधि व्यवसायीहरूसँग पनि प्रकाशले त्यति बेला मोटो रकम चन्द उठाएका थिए । अहिले पनि प्रकाशले चितवनमा चन्दा आतंकलाई बढाउँदै लगेको पीडितहरूको गुनासो छ ।
केही दिन अगाडि पार्टीनिकट जनस्वास्थ्यकर्मी संगठनले गरेको कार्यक्रममा प्रकाशले भनेका छन्, ‘नेकपामाथि सरकारले आग्रह पालेको छ । उ दमनमा उत्रिएको छ ।’
‘सच्चा देशभक्तहरूलाई हतोत्साहित र निराश पार्न अनेक अस्त्र प्रयोग गरिरहेको छ’, प्रकाशले भनेका छन्, ‘असार ५ गतेमात्रै सर्लाहीका हाम्रा जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या गरिएको छ । गौंडामा ढुकेर नियन्त्रणमा लिएको प्रहरीले विभत्स हत्या गरेको छ । र, भनिँदै छ, मुठभेडका क्रममा कुमार पौडेलको मृत्यु भयो ।’
उनले चेतावनीयुक्त शैलीमा भनेका छन्, ‘यो सरासर झूट हो । यो श्रृंखला यतिमै सीमित छैन । त्योभन्दा अगाडि भोजपुरमा पनि यसैगरी हाम्रो पार्टीका कमरेडमाथि गोली दागिएको छ ।’
‘क्रान्ति, परिवर्तन र सुशासनको कुरा गर्दा कैयनलाई जेलको कोठरीमा थुनेर दबाउने निर्लज्जता सरकारले प्रहसन गरेको छ’, उनले भनेका छन्, ‘यसको जति नै आलोचना र भर्त्सना गरे पनि अधुरो र अपूरो नै हुन्छ ।’
‘दमन गरेपछि विप्लव समूह दूला पस्छन् भन्ने भ्रम सरकारमा छ । म यहीबाट सरकारलाई भन्न चाहन्छु– एक–एक गोली र रगतको बदला लिएर हामी देखाउँछौं’, प्रकाश चन्दले भनेका छन्, ‘भावना बहकिएर आक्रोसमा ल्याउन म यस्तो भनिरहेको छैन । सबै प्रष्ट भए हुन्छ– हामी न्याय र मुक्तिका लागि जस्तोसुकै कठोर कदम चाल्न पनि तयार छौं ।’
‘सहरमा जतिसुकै ठूला संघर्ष गरे पनि, त्यहाँका मालिकसँग संघर्ष परे पनि, नटराजसँग जतिधेरै लड्नु परे पनि गाउँलाई हामी कहिल्यै बिर्सने छैनौं’, उनले भनेका छन्, ‘घाइते, बेपत्ता र शहीदहरूले रगतका थोपा–थोपा बगाएर हामीलाई यो स्थानसम्म पुर्याउनु भएको छ । यो गुनलाई पनि हामीले बिर्सने छैनौं । बरु आत्मसाथ गरेर लक्ष्य प्राप्तिको यात्रा अघि बढाउने छौं ।’
‘म पेशाले चिकित्सक हुँ । केही समयअघिको एक अन्तरवार्तामा मैले प्रष्ट रुपमा मेरो लक्ष्य के हो भनेर प्रष्ट पारिसकेको छु । र, फेरि पनि भन्न चाहन्छु– मेरो ९५ प्रतिशत तन, मन, देन यो क्रान्तिलाई पूरा गर्नेमै केन्द्रित हुनेछ’, उनले भनेका छन्, ‘अब हुने मुठभेड र संघर्षलाई सफल पार्नमा जस्तोसुकै अवरोध आए पनि त्यसलाई छिचोल्न खर्चने छु । रह्यो बाँकी ५ प्रतिशत समय ।’
प्रकाशले भनेका छन्, ‘यो समय भने आफ्नो प्रोफेसनमा बिताउने प्रण आम नेपालीसमक्ष गर्दछु । म मात्रै होइन, नेकपानिकट जनस्वास्थ्यकर्मी संगठनको बटमलाइन पनि यही हो ।’
‘हामीले अहिलेको मुर्दा शान्तिभन्दा पृथक किसिमको समाज र राज्य चाहेका छौं । परिवर्तन चाहेका छौं । हामी सहरमा होइन, गाउँमा फर्कन चाहेका छौं’, उनले भनेका छन्, ‘सहरको रमझममा भुलेर जनताको दुःख हामी कहिल्यै बिर्सने छैनौं । जनताको बीचमा आएर आधारभूत आवश्यकता पूर्तिका लागि हामी स्वास्थ्य शिविर मात्रै होइन, पर्यो भने बलिदान दिन पनि तयार छौं । यो हाम्रो क्रान्तिकारी स्पिरिट हो । यसमा कहीँकतै दायाँ–बायाँ हुनेछैन । तलमाथि हुनेछैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया