वर्षा र पहिरोबाट मानवीय क्षति भएकोमा कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा बितेको २४ घण्टामा करीब एक दर्जन नागरिकको मृत्यु भएको भन्दै गम्भीर दुःख व्यक्त गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेसले अविरल वर्षा र पहिलाको कारण ज्यान गुमाउनु हुने दिदीबहिनी–दाजुभाईको आत्माको चीर शान्तिको कामना गरेको छ । नेपाली कांग्रेसले शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

‘मुलुकभरिमा कतिपय नागरिकको घरखेत नष्ट भएको, विभिन्न स्थानमा मूख्य राजमार्ग अवरोध भएको, आम जनजीवन अस्तव्यस्त भएको तथा कैयौं नागरिकको जीउ–धन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिलाई ध्यानमा राखी यो बैठक आवश्यक उद्धारका कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘विशेषत, यो बैठक नेपाल सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारहरु समेतको समन्वय र सहयोगमा उद्धार र राहतको कार्यमा राज्यका सबै निकायहरूलाई युद्धस्तरमा परिचालन गर्न माग गर्दछ’, नेपाली कांग्रेसले भनेको छ, ‘प्राकृतिक विपतको यस घडीमा आम नेपाली नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै एकजुट भई विपत व्यवस्थापनमा जुट्न यो बैठक अपील गर्दछ ।’

नेपाली कांग्रेसको शुक्रबारको बैठकमा ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ का सन्दर्भमा छलफल केन्द्रित रहेको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, डा. रामशरण महत, नरहरि आचार्य, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, नवीन्द्रराज जोशी, रत्न शेरचन, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, जीवन परियार, किरण यादव, सरिता प्रसाइँ, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक असार २९ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Published : Saturday, 2019 July 13, 12:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया