घाइते कांग्रेस नेताहरूको काठमाडौंमा उपचार, दोषीलाई कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुर पुर्नवासमा नेकपा कार्यकर्ताहरूको आक्रमण परी घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

घाइतेमध्ये उपचारका लागि काठमाडौं ल्याइएका कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई राजधानीको न्युरो अस्पताल बाँसबारीमा भेटेर पौडेलले उनीहरूको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।

मंगलबार कञ्चनपुर पुर्नवासमा खानेपानीमन्त्री बिना मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपाका कार्यकर्ताहरूले कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरसचिव विक्रम चन्द, नेता हरेन्द्रसिंह बिष्टका साथै कार्यकर्ता कृष्णबहादुर चन्द र तरुण नेता राम खड्कामाथि आक्रमण गरेका थिए ।

नेता पौडेलले घाइतेको उपचार र घटनाका दोषीमाथि तत्काल कार्वाही गर्न म सरकारसाँग माग गरेका छन् ।

उनले लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको नैसर्गिक हकको कत्ति पनि ख्याल नगरी सत्ताको उन्मादमा कांग्रेस कार्यकर्तामाथि आक्रमण गरिएको बताए ।

पौडेलले प्रहरी प्रशासनको आडमा कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरी सरकारका मन्त्रीले गुण्डागर्दीको शैली अपनाएको बताएका छन् ।

Published : Friday, 2019 June 28, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया