रविन्द्र अधिकारीकाे दुर्घटनाबारेकाे याे तथ्य लुकाइयाे

काठमाडौं । पाथीभरा हेलिकप्टर दुर्घटना जाँचबुझ आयोगले तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारसहित सात जना सवार हेलिकोप्टर दुर्घटनाको प्रतिवेदन बुझाएको छ ।

आयोगले प्रतिवेदन बुझाएपनि धेरैले प्रतिवेदनले अझै केही विषयहरूलाई समेट्न नसकेको टिप्पणी गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले विवादास्पद व्यापारीसँग तेह्रथुम र पाथीभरा पठाउन कसले बाध्य बनायो ? भनेर प्रश्न उठाएका छन् । उनले यस विषयमा प्रतिवेदनले नछोएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘आयोगले खराब मौसमका कारण दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ’, बुधबार बिहान उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यति कुरा थाहा पाउन त कुनै आयोग नै चाहिने थिएन । के यी प्रश्नहरुमाथि कुनै दिन जाँचबुझ आयोग बनेर छानबिन होला ?’

नेकपाका केन्द्रीय सदस्य रिजालले भनेका छन्, ‘भोलिपल्ट विदेश उड्न लागेका मन्त्री अधिकारीलाई कुनै सान्दर्भिकता र औचित्य नभएको तेह्रथुम जान के तत्वले प्रेरित गरेको थियो ? उनी आफूखुसी त्यहाँ गएका थिए वा कसैको दवावले काम गरेको थियो ? ‘भोलि विदेश जानुछ, आज किन तेह्रथुम जाने ?’ भनेर सचिवालयका कर्मचारीले भन्दा ‘यिनीहरू कुरै बुझ्दैनन्’ भनेर उनले के संकेत गर्न खोजेका थिए ?’

‘सरकारी काम थियो भने नेपाली सेनाको हेलिकप्टर प्रयोग नगरी किन निजी कम्पनीको (त्यो पनि भाडामा समेत लिएको अभिलेख देखिन्न) हेलिकोप्टर प्रयोग गरेका थिए ?’, रिजालले प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘सरकारी काममा विवादास्पद व्यापारी सँगै जानु र उनकै कम्पनीको हेलिकप्टर प्रयोग गर्नुका पछाडि के कारण थियो ?’

‘तेह्रथुमम कार्यक्रम सकेपछि उनी काठमाडौं फर्किनुको साटो पहिल्यै गइसकेको पाथिभरा किन गएका थिए ?’, केन्द्रीय सदस्य रिजालले प्रश्न उठाएका छन् ।

दुर्घटना जाँच आयोगले बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा खराब मौसमकै कारण दुर्घटना भएको तर अन्य कारण पनि जिम्मेवार रहेको भनिएको छ ।

तेह्रथुमको चुहानडाँडा विमानस्थलबारे सम्भाव्यता अध्ययन गर्न गएका मन्त्री अधिकारी सहित ७ जना सवार एअर डाइनेष्टीको ९–एन एएमआई (मोडल एएस–३५० बी–३–ई) हेलिकप्टर ताप्लेजुङ फुङलिङ नगरपालिकास्थित तारेढुंगा सिस्नेभीरमा दुर्घटना हुँदा टुर्घटनास्थलमै सबैको निधन भएको थियो ।

मौसम खराब हुँदाहुँदै पाइलटले उडानको जोखिम लिनु, भारवहन क्षमताका आधारमा विमानमा सन्तुलनमा नहुनु र उचाइँमा अपनाइनु पर्ने सतर्कता वेवास्ता गरिनुलाई प्रतिवेदनले औंल्याएको छ ।

‘हेलिकोप्टरले भारवहन क्षमता अनुसार नै तौल बोकेको थियो । तर अगाडिको सिटमा पाइटल सहित तीन जना हुँदा र पछाडि चार जना बस्दा बीच भागमा हुनुपर्ने गुरुत्वाकर्षण केन्द्र अगाडि पर्‍यो’, जाँच आयोगका एक सदस्य भन्छन्, ‘विमानले सन्तुलन गुमाउन यो पनि सहायक बनेको देखिन्छ ।’

पाथीभरा मन्दिर परिसरमा हिउँ परेपछि ३० मिनेटभन्दा बढी समय चालकसहित यात्रु विमानभित्रै बसेका कारण बाहिर र भित्रको तापक्रम फरक हुनाले भिजिबिलिटीमा समस्या देखिएको पनि प्रतिवेदनमा भनिएको छ ।

‘एक त हेलिकप्टरका सिसामा हिउँ थियो, त्यसलाई सफा नै नगरी उडान गरिएको थियो’, ती सदस्य भन्छन्, ‘त्यसमाथि उडानको क्षणभरमा आएको हिउँसहितको हावाहुरीका कारण भिजिबिलिटीमा थप समस्या परेको देखिन्छ ।’

४५ मिनेट भन्दा बढी समय ३८०० मीटर उचाईमा बस्दा १४०० मिटरको उचाइँबाट गएका पाइलटले अक्सिजन माक्स प्रयोग नगर्नुलाई पनि दुर्घटनाको कारण मानिएको छ ।

‘लामो समय कम उचाईबाट गएका पाइलट अक्सिजन माक्स नलगाई बस्दा अक्सिजनको कमी हुनसक्छ, यसतर्फ पनि ध्यान नपु¥याइएको देखिन्छ’, ती सदस्य भन्छन् ।

पूर्वनिर्धाति कार्यक्रम नभएपनि ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली फर्कदा तारेभीरमा दुर्घटनामा परेको थियो ।

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रबहादुर श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, यती एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे र पाइलट क्याप्टेन प्रभाकर केसी थिए ।

दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने, सहायकरथी दीपकप्रसाद बास्तोला र क्याप्टेन प्रमोद लामा सदस्य रहेको चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

Published : Friday, 2019 June 28, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया