सेनाको नाममा करोडौं ठग्ने घिसिङ पक्राउ, ५० करोड ठगी

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाली सेनामा चुस्ताको काम गर्ने भन्दै दर्जनौ व्यापारीहरुबाट करोडौं रकम लिई ठगी धन्दा गर्दै आएका विवादास्पद ठेकेदार चन्द्र घिसिङलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

घिसिङले कम्पनीमा पार्टनर बनाइदिने भन्दै बिभिन्न व्यक्तिहरुसँग रकम लिने र फिर्ता माग्दा खातामा पैसा नभएको चेक दिई ठगी धन्दा गर्दै आएका थिए । घिसिङलाई ९ गते सोमबार उनकै निवास बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घिसिङ धेरै व्यक्तिहरुलाई प्राइम बैंकको रकम नभएको चेक दिएर फरार हुँदै आएका थिए ।

पछिल्लो समय उनी गुण्डा नाइके गणेश लामाको संरक्षणमा रहँदै आएका थिए । घिसिङले अदालतमा सेटिङ मिलाई स्टे अर्डर ल्याउँदै पैसा दिनुपर्ने व्यक्तिहरुलाई आजित बनाउँदै आएका थिए । प्रहरीले घिसिङबिरुद्ध उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घिसिङले अहिलेसमम झण्डै ५० करोड ठगी गरेको खुलेको छ ।

अहिलेसम्म चार जना व्यक्तिले उजुरी दिएको परिसरको मुद्दा फाँटले जनाएको छ । सेनामा कालो सूचीमा परेका घिसिङ कुनै समय गणेश लामाको ड्राइभर बनेर रक्तचन्दन तस्करी गर्दथे । घिसिङले गिता डंगोलको नाममा रहेको काठमाडौं महानगरपालिका, टेकुस्थित १३ आना जग्गामा बनेको घर धितो राखी प्राइम कमर्सियल बैंकबाट ५ करोड ओडी(ओभर ड्राफ्ट) रकम निकालेका थिए ।

घिसिङले डंगोलको नाममा रहेको उक्त घर आफ्नी श्रीमती विना तामाङको नाममा पास गर्न लगाई ओडी निकालेका थिए । सेना र प्रहरीमा चुस्ताका सामान सप्लाई गर्न लागेको र त्यसमा गिताकी श्रीमान राजु डंगोललाई पनि साझेदार बनाएको नक्कली डकुमेन्ट बनाई बैंकका प्रमुख कार्याकारी अधिकृत नारायणदास मानन्धरसँग मिलेमतो गरी घिसिङले ५ करोडको ओडी लिन सफल भएका थिए । डंगोल दम्पत्तिले आफ्नो घर फिर्ता माग्दा घिसिङ अनेक बहाना गरी पन्छदै आएका थिए ।

घिसिङले घिसिङ डेभलभमेन्ट र घिसिङ डेभलपर्स नामक कम्पनी खोलेर सेना र प्रहरीमा काम गर्ने भन्दै ठगी धन्दा चलाउँदै आइरहेका छन् । ट्रमा सेन्टरसँगै बनेको नेपाली सेनाको भवन लिजमा लिन लागेको भन्दै साझेदार बनाउने नाममा घिसिङले अनुप अग्रवाल र राजाराम बानियाँ नामका व्यापारीबाट पनि झण्डै १ करोड रकम असुलेका थिए ।

पीडित अग्रवालले भने–‘भवनमा पार्टनर बनाउने भन्दै उनले म बाट मात्रै ४५ लाख लिएका छन् । पैसा फिर्ता माग्दा उनले मोवाइल नै ब्ल्याक लिष्टमा राखिदिए ।’ त्यस्तै, घिसिङले सानु ढकाल केसीको नाममा रहेको बौद्धको ३६ आना जग्गा आफ्नो भन्दै बौद्धकै दोर्जे लामा नामका व्यक्तिबाट बैना स्वरुप १ करोड ५० लाख रकम लिन सफल भएका थिए ।

होटल सोल्टीको पाछाडी रहेको रेडक्रसको नाममा रहेको जग्गा देखाएर पनि घिसिङले एक मेनपावर व्यवसायीसँग २ करोड असुलेका छन् । त्यस्तै, मिन केसीलाई पनि सेनामा ठेक्काको पार्टनर बनादिने भन्दै ६ करोड रकम ठगेको खुलेको छ ।

अदालतबाट स्टे अर्डर लिएर ठगी धन्दा गर्दै आएका घिसिङले सेना र प्रहरीको नाममा कति व्यपारीलाई ठगी गरेका छन्, खुल्ने क्रम जारी छ । घिसिङले सेनाको ठेक्का लिने ठूलो ठेकेदार भन्दै सेना प्रहरीका उच्च अधिकृतलाई त ठगे नै कतिपय व्यापारीलाई पनि ठग्न भ्याएका छन् । घिसिङले नेपाल प्रहरीका केही वहालवाला एसपी, डिएसपीलाई पनि ठग्न सफल भएको परिसर स्रोतले बतायो ।

यसैबीच, ठगी गर्ने नटवरला घिसिङलाई ४ दिन मात्र म्यादथपको आदेश उच्च अदालत पाटनले दिएको छ । घिसिङको ठगीमा धेरै जना परेकाले ४ दिनमा अनुसन्धान सकिने संभावना नै नभएको प्रहरी अधिकृत बताउँछन् । घिसिङले उच्च अदालतका न्यायाधीश सेटिङ गरिसकेकाले आफू ४ दिनमा साधारण तारेखमा रिहा हुने बताउँदै आएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायालय सुधार गर्ने भन्दै आएका छन् । तर, उच्च अदालतका न्यायाधीशले घिसिङजस्ता अर्बौं रकम नै ठगी गर्ने नटवरलालसँग घुस लिएर प्रहरीलाई अनुसन्धान नै गर्न नदिई साधारण तारेखमा छाड्ने क्रम रोकिएको छैन । उच्च अदालतका मुख्यन्यायाधीश कुमार चुडालले घिसिङ जस्ता नटवरलाललाई साधारण तारेखमा छाड्न सेटिङमा संलग्न न्यायाधीशहरुमाथि निगरानी गर्ने अपेक्षा पीडितहरुको छ । यूनाइटेड पाेष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2019 June 27, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया