राप्तीमा राहतसहित आँशु पुछ्न पुगे कांग्रसबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष

मसुरिया । दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३, माैरीघाट, पैसठ्ठी नम्बर गाउँका तीन जना बालकहरूको किरिया खर्च र राहत प्रदान गरिएको छ ।

साउन १० गते मंगलबार साँझ चट्याङ लागेर तीन जना बालकको मृत्यु भएको थियो । एक जना बालक गम्भीर घाइते भएका थिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गाउँपालिकाको तर्फबाट मृतकका आफन्तलाई जनही १५ हजारका दरले किरिया खर्चका लागि राहत प्रदान गरिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय दाङले दैवी प्रकोपमा मृत्यु भएकाको परिवारलाई जनही एक लाख रुपियाँ प्रदान गरेको छ ।

राहत उपलब्ध गराउँदै अध्यक्ष सुवेदीले तीन जना बालकको मृत्यु भएको र एक जना घाइते भएको घटना दुःखद् भएको बताए ।

राप्ती गाउँपालिकाले चट्याङमा परी घाइते भएका अविनाश चौधरीको उपचारको लागि १० हजार राहत उपलब्ध गराएको छ ।

राहत वितरणका लागि राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत जनकप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, लेखापाल खुमानसिंह खड्का लगायतको सहभागिता रहेको थियो ।

चट्याङ लागेर १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको मृत्यु भएको थियो । ८ वर्षीय अविनाश चौधरी घाइते भएका थिए ।

राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडाहरू जितेकाे छ ।

Published : Wednesday, 2019 June 26, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया