भारतले धौलीगंगा बाँध खोल्ने, सतर्क रहन नेपालसंग आग्रह

प्रकाशचन्द्र भट्ट

दार्चुला । दार्चुलाको सिमानासंग जोडिएको भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रबार खोलिने भएको हो ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका साढे ६ बजेसम्म शिफ्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ ।

सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात नदीमा पानीको सतह बढ्ने भएकोले तटीय क्षेत्रमा जोखिम रहने हुँदा सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।

बाँध १४ गते बेलुकासम्म खोलिने भएको भएपनि १५ गते बेलुकासम्म तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत प्रमुख जिल्ला अधिकारी विष्टले आग्रह गरेका छन् ।

दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।

सोही अनुसार नेपाली प्रशासनले नदि आसपासका बासिन्दालाई बाध खोलिने बारे जानकारी गर्दै आइरहेको छ ।

विक्रम संवत २०७० सालमा विना सूचना धौलीगंगाको बाँध खोलिदा महाकाली नदीमा बाढी आउँदा दार्चुला सदरमुकाममा सयौँ घरबार तथा दर्जन सरकारी कार्यालय बगाएको थियो ।

Published : Wednesday, 2019 June 26, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया