मुस्लिम आयोगद्वारा बुटवलका १६ परिवारको घर बनाउन निर्देशन

बुटवल । मुस्लिम आयोगले रुपन्देहीको बुटवलस्थित जामे मस्जिद नजिकैका सुकुम्वासीलाई डोजर लगाएर हटाएको विषयमा चासो र चिन्ता जनाएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो विषयमा चासो जनाएका छन् ।

गत हफ्ता बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ स्थित रजाए मुस्तफा जामे मस्जिद अगाडि २ कठ्ठा जमीनमा बसोबास गर्दै आएका १६ सुकुमवासी घरपरिवारको जग्गामा डोजर लगाएर उपमहानगरपालिकाले भत्काएको थियो । सो घटनाप्रति मुस्लिम आयोगका अध्यक्ष अन्सारीले चासो जनाएका हुन् ।

अन्सारीले सुकुमवासीहरूसंग प्रत्यक्ष भेटेर समस्याको जानकारी लिएका छन् । उनले सकेसम्म समस्या समाधानका लागि पहल गर्ने आश्वासन पनि दिएका छन् ।

आयोगका अध्यक्ष अन्सारी नेतृत्वको टोलीले बुटवल उपमहानगरपालिकाका मेयर नवराज सुवेदीसँग भेट गरी घर भत्काइएकाहरूको अवस्थाका बारेमा जानकारी लिएको छ ।

अन्सारीले पीडितहरूलाई बैकल्पिक घर निर्माण गर्न आग्रह गरेका छन् ।

१६ घरपरिवारलाई तत्काल बैकल्पिक घर आवास निर्माण गरी व्यवस्थापन गर्न बुटवल उपमहानगरपालिका तयार रहेको अध्यक्ष अन्सारीले जानकारी दिए ।

सुकुमवासीहरूको समस्या समाधान र वास्तविकता पहिचान गर्नको लागि मुस्लिम आयोग र उपमाहानगरपालिकाको समन्वयमा ३ जना सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।

रजाए मुस्तफा जामे मस्जिद अगाडि ३० फिट जमीन छोडेर कभर्ड हाल बनाउन समेत मुस्लिम आयोगको आग्रहलाई उपमहानगरपालिकाले सकारात्मक रुपमा लिएको छ ।

अख्तियारको निर्देशनमा रजाए मुस्तफा जामे मस्जिद अगाडि सुकुमवासीहरूले जमीन कब्जामा लिएर बनाएका घरहरू उपमहानगरपालिकाले भत्काएको थियो ।

बुटवल उपमहानगरपालिकाका मेयरसँग मुस्लिम आयोगका अध्यक्ष अन्सारीका साथै हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वमन्त्री हकीकुल्लाह खान, पूर्वसभासद नजीर मियाँ, जामे मस्जिदका अध्यक्ष मकबूल मियाँ लगायतको सहभागी थिए ।

Published : Sunday, 2019 June 23, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया