प्रहरीको हतीयारमा तस्करकाे आँखा, हेडक्वाटरसम्म चलखेल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ आर्थिक बर्षमा खरिद गर्न लागेको अर्बौंको गैरघातक र घातक हतियार सप्लाइका लागि बद्नाम ठेकेदारको चलखेल बढेको छ ।

यतिसम्मकी अर्थ मन्त्रालयबाट प्रहरीका लागि पास भएको बजेट समेत आफ्नै पहलमा पारिएको भन्दै विवादित ठेकेदार दिपक भट्टले चलखेल बढाएका छन् ।

पेस्तोल, सर्टगन, अटोमेटिक हतियार, टियर ग्याँस, अश्रुग्यास, रबरका गोली र बडी प्रोटेक्टर खरिदका लागि आफ्नो पहलमा सरकारले अर्बौंको बजेट छुट्याएको भन्दै ठेकेदार भट्टले गृह मन्त्रालयमा सक्रियता बढाएको गृह स्रोत बताउँछ ।

२०७१ सालमा एआईजी राजेन्द्रसिंह भण्डारी प्रशासनको प्रमुख छँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की र ठेकेदार भट्टको चलखेलका आधारमा हतियार खरिदका लागि अर्थ मन्त्रालयले डेढ अर्ब रुपैयाँ निकासा गरेको थियो ।

तर, तत्कालीन एआईजी भण्डारीले अनावश्यक रूपमा हतियार किनेर कमिसन खाने खेल भएको भन्दै उक्त फाइल अगाडि नबढाएपछि उनको त्यहाँबाट सरुवा भयो भने हतियार खरिद प्रकृया नै रोकिएको थियो ।

त्यसयता प्रहरीमा हतियार खरिद हुन सकेको छैन । अहिले प्रहरी प्रधान कार्यालयले हतियार खरिदमा असहयोग गरेको खण्डमा आफू निकट एआईजी पुष्कर कार्कीलाई प्रशासनमा लगेर भए पनि हतियार खरिद गर्ने भट्टको दाउ छ ।

ठेकेदार भट्टले महँगो मूल्य राखेर जर्मनीबाट हतियार किन्ने योजना बनाएका छन् । हतियारमा धेरै कमिसन आउने हुँदा भट्टले अहिले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म चलखेल गरिरहेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी बताउँछन ।

तर, अहिलेको समयमा भीड नियन्त्रण र अनुसन्धानका लागि गैरघातक हतियारमात्र खरिद गर्नुपर्ने पक्षमा प्रहरी प्रधान कार्यालय रहेको छ । अहिलेको समयमा घातक हतियार खरिद भन्दा पनि भिड नियन्त्रणका लागि गैरघातक हतियारको आवश्यक पर्ने गृहका एक उच्च अधिकारी बताउँछन् ।

सटगन, अश्रुग्यास, रबरका गोलीलगायत खरिद गर्नुको साटो किन घातक हतियार नै किन्न भट्टले जोडबल गरिरहेका छन् ? यसमा प्रष्ट रुपमा ठूलो कमिसनको खेल देखिएको गृहका ति अधिकारी दावी गर्छन् ।

प्रहरीले भीड तितरवितर बनाउन वाटर क्यानन प्रयोग गर्दै आएको छ । ठेकेदार भट्टले नै प्रहरीमा महंगो मूल्यमा पाँचवटा वाटर क्यानन खरिद गरिसकेका छन् । बाँकी दुईवटा समेत खरिद गर्न गृहले भट्टलाई नै दिने तयारी गरेको छ ।

भट्टले प्रति वाटर क्यानन झण्डै सात करोडमा चीनबाट खरिद गरी प्रहरीलाई उपलब्ध गराएका थिए । जुन बजार भाउ भन्दा निकै महंगो हो । सातवटै प्रदेशमा कम्तीमा एक–एक वटा वाटर क्यानन पु¥याउने लक्ष्यसहित प्रहरी प्रधान कार्यालय अझै दुईवटा थप्न चाहन्छ । त्यसका लागि पनि भट्टले प्रहरीमा सक्रियता बढाएका हुन् ।

त्यसो त जर्मनी कम्पनीबाट हतियार खरिद गराउन प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्मका कर्मचारीहरुलाई प्रभावमा पार्न ठेकेदार भट्ट तल्लिन छन् । नेपालमा खरिद हुने हतियारसम्बन्धी ठेक्कामा भट्टकै एकछत्र राज रहेको छ ।

भट्ट जलविद्युत आयोजनादेखि अन्य ठूला ठेक्कापट्टामा समेत सक्रिय रहँदै आएका छन् । उनी कालो सूचीमा रहेको चिनियाँ कम्पनी गेजुवाका नेपाली एजेन्ट समेत हुन् ।

Published : Saturday, 2019 June 22, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया