ओलीको महत्वकांक्षी पानीजहाज किन्न पैसा भएन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाया सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् ।

संसदमा बोल्दै कांग्रेसका सांसद गौतमले विगतदेखि निर्माणाधीन रहेका रणनीतिक महत्वका सडक तथा अन्य पूर्वाधार पूरा गर्न बजेट विनियोजन गर्नुको साटो सयौं नयाँ आयोजना थप गरेर करोडका दरले कनिका छरेजस्तो बजेट आएको बताए ।

गौतमले पूराना आयोजना पूरा गर्ने भन्दा पनि ससाना आयोजनाको दायित्व सिर्जना गर्नेतिर सरकार लागिपरेको आरोप लगाए ।

‘देशभर सयौं सडकमा करोडका दरले बजेट कनिका छरिएको छ’, सांसद गौतमले भने, ‘ठूला राजमार्ग वा एकैपटक निर्माण गर्ने भन्दा पनि स्थानीय तहले ल्याउनेजस्तै बजेट विनियोजन गरेको छ ।’

‘करोड बजेट संघले विनियोजन गरे प्रदेश सरकारले के गर्छन् ?’, उनले प्रश्न गरेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री र अन्य मन्त्रीले आजको भोलि नै नेपालमा रेल र पानीजहाज आउलाजस्तो गरेर भाषण गरेपनि बजेट भने नगन्य विनियोजन गरिएकाले त्यो सपनामात्र थियो भन्ने पुष्टि हुँदै गएको उनको भनाइ छ ।

‘पानी जहाजका लागि जम्मा २ करोड ६२ लाखमात्र छुट्याएको छ’, गौतमले भने, ‘यसले कसरी आउला । त्यस्तै रेलका लागि ७ अर्बमात्र छ यसले कसरी रेल विकास होला ?’

त्यस्तै भौतिक पूर्वाधारमा पिछडिएको क्षेत्रमा भन्दा पनि शक्तिशाली नेताको क्षेत्रमा केन्द्रित भएको उनको आरोप छ ।

Published : Thursday, 2019 June 20, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया