ओलीका केही मन्त्रीहरू बाहिरिने, ओली–प्रचण्डबीच सहमति

पोखरा । सरकारको आलोचना भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग छलफल भएको बताएका छन् ।

पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले बजेट सार्वजनिक भइसकेपछि सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको बताए ।

‘तर अहिले नै सरकार पुनर्गठन गरिहाल्ने भन्ने निर्णयमा हामी पुगिएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीको चाहेको बेलामा हुन्छ ।’

अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी ओलीबीच बुधबार भएको छलफलमा अब पार्टीको एकता प्रकृया जतिसक्दो छिटो टुंग्याउने बिषयमा कुराकानी भएको र शुक्रबार सचिवालयको बैठक डाकेर निर्णय गरिने बताए ।

उनले सरकार र पार्टी सञ्चालनमा भएको विषयमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेको विषय भएकाले आफूले बोलेको कुरा कुनै नौलो विषय नभएको बताए ।

अध्यक्ष दाहालले आफूले पहिलेको सहमतिनै संस्मरणमात्रै गरेको र नयाँ ढंगको सहमति बन्यो भने यही सरकार नै ५ वर्ष नै चल्न सक्ने अभिव्यक्ति दिएको बताएका छन् ।

पार्टी एकतालाई सफल पार्ने विषय अहिलेको अनिवार्य शर्त रहेको बताउँदै उनले एकता र प्रतिबद्धतालाई हल्काफुल्का तरिकाले दायाँबायाँ गर्ने छुट कसैलाई पनि नभएको बताए ।

‘हिजो भएका समझदारी सहमति र संकल्पभन्दा बाहिरबाट जसले दायँबायाँ कुरा गरे पनि त्यो अहित नै हुन्छ’, अध्यक्ष दाहालले भने, ‘पार्टी एक नहोस् भनेर बाहिरबाट निक्कै चलखेल भएको छ । एकता र प्रतिबद्धतालाई हल्काफुल्का तरिकाले दायाँबायाँ गर्ने छुट कसैलाई पनि छैन ।’

अध्यक्ष दाहालले पछिल्लो समयमा सरकारले ल्याएको विधेयका बारेमा जनस्तरबाट धेरै नै टिकाटिप्पणी भएकाले ती विधेयकहरू सच्याएर नै जानुपर्ने बताएका छन् ।

उनले संसदमा भइकसेका विधेयक संसदीय प्रकृयाबाट परिमार्जन गरेर जानुको विकल्प नभएको र आफूले प्रधानमन्त्रीसँग त्यही हिसाबले कुरा गरेको जानकारी पनि दिएका छन् ।

‘पार्टीभित्रकै साथीहरुले समेत मिडियामा आएपछिमात्रै विधेयकको बारेमा थाहा पाउने हुन थाल्यो, सबैभन्दा पहिले पार्टी र सकारका फोरमहरुमा छलफल हुन प¥यो । सरोकारवालाहरूसँग छलफल गर्नुप¥यो । मैले प्रधानमन्त्रीसँग बुधबार भेटर पनि त्यही भनेको छु’, अध्यक्ष दाहालले भने ।

उनले असार ८ गते अघि नै संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले पदाधिकारी पाउने जानकारी पनि दिए ।

Published : Thursday, 2019 June 20, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया