काठमाडौं र दाङको गुठी विवाद फरक छ, मोहीलाई जग्गा दिनुपर्छः योगेन्द्र चौधरी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले दाङमा रहेको स्वर्गद्वारी गुठीको जग्गासम्बन्धी विवाद अन्त्य गर्न माग गरेका छन् ।

कांग्रेसका युवा नेता चौधरीले बुधबार रिपब्लिका दैनिकसँग कुरा गर्दै दाङमा स्वर्गद्वारी गुठीको विवाद अन्त्य गरेर बास्तविक मोहीको समस्या समाधान गर्नुपर्ने बताए ।

‘दाङमा हजारौँको संख्यामा स्वर्गद्वारी गुठीको जग्गामा मोही बनेर बसेका सर्वसाधारणको मागको सुनुवाई हुनुपर्छ’, उनले भने, ‘काठमाडौं र दाङमा उठेको गुठीसम्बन्धी आन्दोलन फरक छ ।’

दाङमा गुठी समस्या काठमाडौं उपत्यकाको आन्दोलनभन्दा निकै भिन्दै रहेको बताए । उनले भने, ‘काठमाडौं उपत्यकाभित्रका नेवार समुदायको गुठी आन्दोलन संस्कृति, परम्परा, धर्मसँग सम्बन्धित छ । दाङको स्वर्गद्वारी गुठीको विवाद मोही आन्दोलनसँग सम्बन्धित छ । यो कुरा सबैले बुझ्न जरुरी छ ।’

नेपाली कांग्रेसले पनि काठमाडौं उपत्यकाभित्रको गुठी आन्दोलन र दाङको गुठीको मोही आन्दोलनलाई गम्भीरता पूर्वक लिएको युवा नेता चौधरीले बताए ।

नेपाली कांग्रेसका नेता चौधरीले गुठी विधेयकको नाममा भू–माफियाको चलखेल रोक्नुपर्ने बताए । ‘गुठी विधेयक भू–माफियाकै दवावमा आएको हो । बास्तविक मोहीलाई जग्गा नदिएर भू–माफियालाई जग्गा दिन खोजिएको छ’, उनले भने, ‘दाङको स्वर्गद्वारी गुठीको जग्गा पनि भू–माफियाहरूले आँखा लगाएका छन् । बास्तविक जोताह मोहीलाई जग्गा नदिने षड्यन्त्र भएको छ । यस्तो भयो भने नेपाली कांग्रेस चुप लागेर बस्दैन ।’

दाङ जिल्लामा बिक्रम संवत ०३० सालको तथ्याङ्क अनुसार २ सय ८९ जना मोही थिए । ती मोहीको संख्या बढेर हजारौँ पुगेको अनुमान नेपाली कांग्रेस पूर्वसांसद चौधरीले बताए ।

त्यही परिवारबाट अलग भएका परिवार अहिले पनि मोहीको जग्गामा बस्दै आएका छन् भने खेतीपाती पनि गरिरहेका छन् ।

स्वर्गद्वारी आश्रम र मन्दिरलाई संरक्षण गरेर मोहीको समस्या समाधानमा ध्यान दिनुपर्ने बताएका कांग्रेसका नेता चौधरीले वर्षौंदेखि मर्कामा रहेका पीडित मोहीहरूको माग छिटोभन्दा छिटो सुनुवाई गर्न माग गरेका छन् ।

बिक्रम संवत १९८२ देखि बिक्रम संवत १९९३ सम्म दाङ जिल्लामा स्वर्गद्वारी गुठीको जग्गा व्यक्तिको नाममा थियो । पछि त्यो जग्गा गुठीको नाममा सारिएको चौधरीले बताए ।

दाङ जिल्लाको नैनवार, पलाँसे, रामपुर, बनगाउँ, मजगाउँ, चौलाही, उचानिम्बु, अर्नावालगायतका स्थानमा स्वर्गद्वारी गुठीको जग्गा रहेको छ ।

ती जग्गामा पाँच दशकदेखि मोहीले भोगचलन गर्दै आएका छन् । तर, ती जग्गा आफ्नो नाममा आउन नसक्दा बास्तविक मोहीहरू पीडामा रहेको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद चौधरीले बताए ।

Published : Wednesday, 2019 June 19, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया