कांग्रेस नेताको पहलमा दाङमा अग्निपीडितलाई राहत प्रदान, पीडा बुझेनन् शंकर पाेख्रेलले

घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ सिरुखर्क र तल्लो मालेगाउँका अग्निपीडितलाई नेपाली कांग्रेसका नेताहरूसहित स्थानीय अगुवाहरूले २ लाख बढी नगद रकम हस्तान्तरण गरेका छन ।

अग्निपीडितहरू बसोबास गर्दै आइरहेको सिरुखर्क गाँउमा एक कार्यक्रम गरी अग्निपीडित नौ परिवारलाई प्रतिपरिवार २३ हजार ६० रुपियाँका दरले २ लाख ७ हजार ५ सय ४० रुपियाँ प्रदान गरिएको नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का सचिव चुडामणि आचार्यले जानकारी दिए ।

वैशाख अन्तिम हप्ता बनमा लागेको डढेलो बस्तीमा सल्किदा सिरुखर्कका ५ र तल्लो मालेगाउँका ४ गरी ९ परिवारका घरगोठ जलेर नष्ट भएको थियो । उनीहरूलाई स्थायी बसोबास खाना खर्चमा समेत सहयोग पुगोस भन्नका लागि पीडित परिवारलाई नगद रुपियाँ प्रदान गरिएको थियो ।

अग्निपीडितलाई स्थानीय सुग्रिव वलीले १ लाख, नेपाली काग्रेसका तर्फबाट प्रदेश सभाका उमेदवार कमलकिशोर घिमिरेले १० हजार, कांग्रेस वडा सदस्यका उमेदवार इन्द्रबहादुर गिरीले ५ हजार, विमल ज्ञवालीले ५ हजार, भरतकुमार पोख्रेलले ५ हजार ५ सय, साना किसान कृषि सहकारी संस्था रामपुरबाट २० हजार, सहकारीका सञ्चालकहरूबाट ३ हजार गरी ४३ जनाले उक्त रकम संकलन गरेका थिए ।

संकलित रकम नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभाका उमेदवार कमलकिशोर घिमिरे, सुग्रिव वली, पूर्ण मल्ल, चुडामणि आचार्य, वडा सदस्य छविलाल घर्ती, रेवतीप्रसाद घिमिरे, ईन्द्रबहादुर गिरी, छविलाल सुनार, महेन्द्र घर्तीले प्रदान गरेका छन ।

याे क्षेत्र सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले जितेकाे क्षेत्र हाे । उनीहरूले अग्नि पीडितहरूलाई सहयाेगका लागि पहल नगरेकाे पीडितहरूकाे गुनासाे छ ।

Published : Wednesday, 2019 June 19, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया