ओलीले हेप्ने काम गरेपछि देखाएका हौँः देरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा बल मिच्याइँ नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।

संसदको बुधबार बसेको बैठकमा बोल्दै देउवाले प्रमुख प्रतिपक्ष दलको नेताले बोल्दा प्रधानमन्त्री सदनमा सुन्ने नगरेको बताए ।

‘प्रमुख प्रतिपक्ष दलको नेता बोल्दा प्रधानमन्त्री संसदमा आउनुपर्छ । प्रमुख प्रतिपक्षको कुरा सुन्ने काम भएको छैन । हेप्ने काम भएको छ । हामी आगामी दिनमा अझै सशक्त रुपमा प्रस्तुत हुने छौँ’, देउवाले भने ।

मंगलबार प्रधानमन्त्री खड्गप्रसाद ओलीले जबरजस्ती बोल्न खोज्दा आफूहरूले संसद अवरुद्ध गर्नु परेको उनले बताए ।

कांग्रेस सभापति देउवाले सदन प्रतिपक्षको पनि हो भन्ने नभुल्न आग्रह गरे । ‘हिजो मैले समय मागिसकेको थिएँ । प्रधानमन्त्रीले समय माग्नुभएछ’, उनले भने, ‘मेरो जवाफ दिन पाउनु हुन्थ्यो ।’

प्रतिपक्षले पहिले बोल्ने र सत्तापक्षले जवाफ दिने संसारभर प्रचलन रहेको भएपनि प्रधानमन्त्री जबरजस्ती बोल्न खोज्दा विरोध गर्नु परेको उनले स्पष्ट पारेका छन् ।

देउवाले भने, ‘प्रधानमन्त्री बोल्ने भएपछि कोही बोल्न पाइन्न । यस्तो पनि कहीँ हुन्छ ?’ उनले भने, ‘यो बल मिच्याई चल्दैन ।’

विपक्षीको काम नै बोल्ने भएको भन्दै उनले विपक्षीले माग गर्दैमा नडराउन आग्रह गरेका छन् । देउवाले भने, ‘मैले माग गर्ने हो । गुठी विधेयक मात्र होइन, मेरो अरु पनि माग छ । शेरबहादुरले माग्यो, मैले दिनु र्पयो भन्ने ? डराई हाल्नुपर्ने ?’

उनले प्रधानमन्त्री ओलीमाथि विपक्षी दलको नेता बोल्दा संसदमा उपस्थित हुने परम्परा तोडेको आरोपसमेत लगाए । विपक्षी दलका नेता देउवाले भने, ‘प्रधानमन्त्री बोल्दा विपक्षी नेता आउनुपर्छ । विपक्षी बोल्दा प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उसले जहिले पनि हेप्ने काम गरेको छ । यो मान्दैनौं ।’

Published : Wednesday, 2019 June 19, 2:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया