ओलीजीको परराष्ट्र नीति पूर्णरुपमा असफल भयोः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको युरोप भ्रमण असफल भएको दाबी गरेका छन् ।

सोमबार दिउँसो सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले प्रधानमन्त्री ओलीसँग बेलायत र फ्रान्सका राष्ट्र प्रमुखहरूले भेट्न अस्वीकार गरेको बताए । उनले परराष्ट्र नीतिमा कम्युनिस्ट सरकार असफल भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले दुईतिहाइको ओली सरकारलाई अझै विश्वास गर्न नसकेको बताए ।

उनले तयारीविना युरोप भ्रमणमा गएका कारण ओलीलाई अपमान सहनु परेको बताए ।

‘हाम्रो देशका प्रधानमन्त्री ओलीजीलाई बेलायतकी महारानीले भेट्न अस्वीकार गरेपछि नेपालीहरूको अपमान भएको छ । बेलायती महारानीले नभेटेर ओलीसँग भेट्न नाती राजकुमार ह्यारीलाई पठाउनु भयो’, उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान समावेशी र समानुपातिक छैन भनेर भनेको ठाउँमा गएर ओलीजीले मोदीलाई जवाफ दिनु हुन्छ भन्ने ठानेका थियौँ । त्यो पनि गर्न सक्नु भएन । उहाँलाई बेलायती महारानीले भेट्न नमानेर नेपालीको कुटनीतिक असफलता देखिएको छ ।’

बेलायती प्रधानमन्त्री पदबाट राजीनामा दिएका कामचलाउ प्रधानमन्त्रीलाई भेटेर ओलीले गलत गरेको कांग्रेसका नेता खतिवडाले बताए ।

फ्रान्समा पनि प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपतिलाई भेट्न नपाएको उनले बताए । ‘हाम्रा प्रधानमन्त्री ओलीजी फ्रान्समा टुरिस्टको हैसियतमा जानुभयो । पर्यटकीय स्थलको अबलोकन गरेर आउनु भयो’, खतिवडाले भने, ‘फ्रान्सँग यसो गर्छु । उसो गर्छु भनेर यहाँबाट जानुभएको थियो । तर, फ्रान्सका राष्ट्रपतिले नभेटेपछि ओलीजी केबुल कार चढेर आउनु भएको छ ।’

युरोपियन युनियन सदस्य राष्ट्रका उपमन्त्री र सहायक मन्त्री नेपाल आउँदा पनि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई सहज रुपमा भेट्ने गरेको बताउँदै कांग्रेसका युवा नेता खतिवडाले भने, ‘होली वाइन पिउँदा पनि युरोपियन युनियनले हाम्रा प्रधानमन्त्रीलाई पत्याएन । समग्रमा ओलीजीको युरोप भ्रमण असफल भएको छ ।’

Published : Monday, 2019 June 17, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया