काठमाडौंका मेयर शाक्यको अर्को काण्डले सवारी साधन भएकाहरू पीडित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाका जनतालाई स्मार्ट पार्किङको नाममा पार्किङको भाडा वृद्धि गरेका छन् ।

स्मार्ट पार्किङको नाममा मेयर शाक्यले न्युरोड र वीर अस्पताल क्षेत्रमा मोटरसाइकलका उपभोक्ताहरूले घण्टाको २५ रुपियाँ पार्किङ शुल्क तिर्नुपर्नेछ । यसअघि दश रुपियाँ पार्किङ शुल्क थियो ।

अव्यवस्थित पार्किङको समस्या समाधानका लागि आइतबारदेखि स्मार्ट पार्किङ सुरु गरेको छ । धेरै पार्किङ हुने स्थान वीर अस्पताल र न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ भनिएको छ । यी दुई क्षेत्रमा पैसा लिनका लागि मेसिनको बिलिङ दिइनेछ ।

पार्किङको ठाउँ पहिलाकै हो । एपबाट पार्किङस्थल बुकिङ गर्ने सुविधा भनिएको छ । बुकिङ गरेको १५ मिनटभित्र पुगिसक्नुपर्नेछ । काठमाडौंको अस्तव्यस्त ट्राफिक जाम भएको ठाउँमा १५ मिनटमा कुनै पनि मोटरसाइकल कथित स्मार्ट पार्किङस्थलमा पुग्नै सक्दैन ।

हील्स ट्रली योर्स नामक संस्थाले पैसा उठाउने ठेक्का पाएको छ । हाल न्युरोडमा शुरु गरिएको यो सेवा बिस्तारै प्युखा, खिचापोखरी, पाकोलगायतका खाली स्थानमा पनि विस्तार गरिनेछ ।

सबै स्थानमा पार्किङ शुरु भए ८ सय वटा मोटरसाइकल र ४० चारपांग्रे पार्किङ गर्न सकिनेछ ।

हालका लागि दुई पांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा २५ रुपियाँ र चार पांग्रेका लागि ८० रुपियाँ तोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

फोनमार्फत कन्फर्म गरेको १५ मिनेटभित्र सवारीसाधन बुकिङ गरिएको ठाउँमा पुग्नुपर्ने हुन्छ ।

पार्किङको चाप र अवस्थाबारे ट्राफिक प्रहरी, महानगरपालिका र एप निर्माता तीनैले चाहेका बेला हेर्न सक्नेछन् । सुरक्षाका लागि ४८ सीसीटीभी जडान गरिएको छ ।

गत वर्ष बहुतले भवनमा पार्किङ मात्र हुने खालको पार्किङ निर्माण गर्ने भनिए पनि अहिलेसम्म त्यो भएको छैन ।

Published : Monday, 2019 June 17, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया