‘नेकपा’का घरबेटीलाई राजदूत उपहार, जिल खाए कम्युनिस्टका कार्यकर्ताहरू

काठमाडौं । कम्युनिस्ट सरकारले चार देशहरूमा राजदूत सिफारिस गरेको छ ।

यस पटक पनि राजदूत सिफारिस विवादमुक्त हुन सकेन । चलखेलको आधारमा राजदूत नियुक्त गरेको आरोप लागेको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओली, दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भागबन्डा गरेर परराष्ट्र सेवा बाहिरका चार जनालाई राजदूत सिफारिस गरेको खुलासा भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कतार र स्पेन, दाहालले अष्ट्रेलिया र नेपालले बंगलादेशका राजदूत भागबण्डा गरेका छन् ।

महेशप्रसाद दाहाल (अष्ट्रेलिया), नारद भारद्वज (कतार), दावाफुटी शेर्पा (स्पेन) र वंशिधर मिश्र (बंगलादेश) राजदूत सिफारिस भएका छन् ।

राजदूतमा सिफारिस हुने दाहाल केही महिनाअघि मात्र नेकपा प्रवेश गरेका हुन् । उनले विगतमा कांग्रेसमा थिए । कांग्रेसकै कोटामा नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त भएका थिए । दाहाल प्रचण्डको गृहनगर चितवनका बासिन्दा हुन् । प्रचण्डकै सिफारिसमा उनी राजदूत भएका हुन् ।

राजदूत सिफारिस भएकी दावाफुटी शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन् । ३४ वर्षीया शेर्पा राजदूत नियुक्त भएकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । पासाङ ल्ह्यामुका देवर आङछिरिङ शेर्पासँगको पारिवारिक सम्बन्धले प्रधानमन्त्री ओलीले दावाफुटी शेर्पालाई राजदूत सिफारिस गरेको स्रोतको भनाइ छ ।

दावाफुटी शेर्पा अहिले पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छिन् । धुम्बाराहीस्थित फाउन्डेसनकै भवनमा नेकपाको केन्द्रीय कार्यालय छ । फाउण्डेशनको भवनमा नेकपाको कार्यालय राख्न दिए वापत दावाफुटी शेर्पाले राजदूत हुने मौका पाएको चर्चा परराष्ट्र मन्त्रालयमा छ ।

नारद भारद्वाज यसअघि कोरियाका लागि राजदूत सिफारिस भएकोमा सरकार परिवर्तन गरेपछि संसदीय सुनुवाईमा पठाइएको थिएन । डा. वंशिधर मिश्र पूर्व स्वास्थ्यमन्त्री हुन् । डा.मिश्र वरिष्ठ नेता माधव नेपालका निकटका नेता हुन् ।

Published : Monday, 2019 June 10, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया