कम्युनिस्ट सरकारद्वारा दमन, एक दर्जन प्रदर्शनकारी घाइते

काठमाडौं । कम्युनिस्ट सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा भएको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

गुठी विधेयकप्रति आपत्ति जनाउँदै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रर्दशनकारीहरूलाई प्रहरीले पानीको फोहोरासहित धरपकड गरेको हो ।

धरपकडमा परी एक दर्जन बढी घाइते भएका छन् । प्रदर्शनकारीले सो विधेयक तत्काल फिर्ता नलिए आफूहरू रगतको खोलो बगाउन तयार रहेको चेतावनी दिएका छन् ।

सामाजिक अभियन्ता भरत जंगम, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्यले मुलुकको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी सरकारले ल्याएको सो विधेयक फिर्ता नलिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने सो विधेयकको प्रावधानप्रति उनीहरूको विशेष आपत्ति छ ।

दुई तिहाई बहुमतको सरकारले ल्याएको सो विधेयक पारित हुने आशंका गर्दै सरोकारावालाहरूले विधेयक खारेज गर्न माग गरेका छन् ।

उनीहरूले एक हप्तादेखि विरोध प्रर्दशन गर्दै आएका छन् । उनीहरूले सो विधेयक २ दिनभित्र फिर्ता नलिए सिंगो देश नै ठप्प हुने गरी आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

Published : Sunday, 2019 June 9, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया