कम्युनिस्ट सरकारले सिफारिस गर्‍यो राजदूतहरू

काठमाडौं । कम्युनिस्ट सरकारले चार देशमा राजदूतहरू नियुक्तिका लागि सिफारिश गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बंगलादेश, अष्ट्रेलिया, कतार र स्पेनका लागि राजदूत सिफारिश गरेको स्रोतले जनाएको छ ।

बंगलादेशका लागि एमाले नेता डा.बंशीधर मिश्र, कतारका लागि डा.नारद वाग्ले भारद्धाज, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावा फुटी शेर्पा सिफारिस भएका छन् ।

उनीहरूलाई संसदीय सुनुवाईका लागि सिफारिश गर्ने निर्णय भएको छ ।

मिश्र एमाले नेता माधव नेपाल निकट नेता हुन् । वाग्ले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँगै जेल बसेका र हाल त्रिविमा अंग्रेजी विषय अध्यापन गर्छन् ।

दाहाल नेपाल टेलिभिजनका पूर्वअध्यक्ष हुन् । उनी कांग्रेसबाट हालसालै नेकपा प्रवेश गरेका थिए ।

स्पेनका लागि सिफारिश शेर्पा पर्यटन व्यवसायी स्वर्गीय आङ छिरिङ शेर्पाका नातेदार हुन् ।

यसअघि बंगलादेशबाट डा. चोपलाल भुसाल, कतारबाट रमेश कोइराला र स्पेनबाट राजदूत भरत रायमाझीलाई सरकारले फिर्ता बोलाएको थियो ।

अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाले राजीनामा दिएकी थिइन् । रिक्तमध्ये अब दक्षिण अफ्रिका र दक्षिण कोरियामा राजदूत पद नियुक्त गर्नुपर्नेछ ।

दक्षिण अफ्रिकाबाट अमृतबहादुर राई र दक्षिण कोरियाबाट अर्जुन जंगबहादुर सिंह फिर्ता भएपछि राजदूत पद खाली छ ।

Published : Friday, 2019 June 7, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया