जागरण अभियानले कार्यकर्ताको मनोवल माथि उठायोः डिना उपाध्याय

सर्लाही । नेपाली कांगे्रसकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको राष्ट्रिय जनजागरण अभियान उपलब्धीमुलक भएको बताएकी छिन् ।

नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ उपाध्यायले जनजागरण अभियानमा देखिएको उत्साहपूर्ण सहभागिताले नेपाली कांगे्रसप्रति आम नागरिकको आकर्षण बढ्दै गएको बताइन् ।

राष्ट्रिय जागरण अभियानका लागि सर्लाहीमा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएकी नेतृ उपाध्यायले हालसम्म सर्लाहीका १४ वटा नगर र गाउँपालिकामा सम्पन्न जनजागरण अभियानअन्तर्गत आयोजित सभामा अन्य पार्टी परित्याग गरी एक हजार बढी नेता कार्यकर्ता कांगे्रसमा प्रवेश गराएको दावी गरिन् ।

हालसम्म सम्पन्न सभामध्ये लालबन्दी नगरपालिका–१६, परवानीपुरमा सम्पन्न सभा निकै उपलब्धी र महत्वपूर्ण भएको उपाध्यायले बताइन् ।

तत्कालीन माओवादी पार्टीका केही कमाण्डरसहित ठूलोमास कांगे्रसमा प्रवेश गरेको उपाध्यायले जानकारी दिइन् ।

निर्वाचनमा भएको अप्रत्यासित हारले पार्टीका नेता कार्यकर्तामा निराशा छाएपनि अहिलेको देशव्यापी जागरण अभियानमा देखिएको गतिशीलता र उर्जाले उत्साह थपिएको कांगे्रस नेतृ उपाध्यायले बताइन् ।

राष्ट्रिय सभाकी प्रमुख सचेतक एवम् कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाइँले कांगे्रसले लोकतान्त्रिक किसिमले सशक्तरुपमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताइन् । उनले कम्युनिस्टहरूको अधिनायकवादलाई नेपाली कांग्रेसले प्ररोध गर्ने बताइन् ।

Published : Thursday, 2019 June 6, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया