उपाध्यक्ष भण्डारीलाई छाड्न तरुण दलको चेतावनी, आन्दोलनको सामना गर्न धम्की

काठमाडौं । नेपाल तरुण दलले तरुण दल धादिङका उपाध्यक्ष एवम् युवा नेता राधाकृष्ण भण्डारीलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बिहीबार साँझ विज्ञप्ति जारी गरेर तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारीलाई वर्तमान सरकारले पक्राउ गरेको भन्द आपत्ति जनाएका हुन् ।

‘नेपाल तरुण दल धादिङका उपाध्यक्ष एवम् तरुण दलका युवा नेता राधाकृष्ण भण्डारीलाई वर्तमान नालायक, घोर अधिनायकवादी कम्युनिस्ट ओली सरकारको प्रत्यक्ष निर्देशनमा जेठ २२ गते बुधबार बेलुका संगठनको कामको सिलसिलामा शान्तिपूर्ण हिँडडुल गर्दैगर्दा डाकुको शैलीमा प्रहरीद्वारा कपोलकल्पीत एवम् झुठो आरोप लगाई पक्राउ गरिएको घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानआकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘लोकतन्त्र र नेपाली कांग्रेसमा श्विास राखेकै कारण विभिन्न बहानामा तरुणहरूलाई झुठो आरोप लगाई आतंकित पार्ने कुत्शीत एवम् घृणित मनसायले अभिप्रेरित भई पक्राउ गरिएको निकृष्ट कार्यको नेपाल तरुण दल खेद प्रकट गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘प्रहरी जनताको रक्षक हुनु पर्नेमा स्वयं जनतालाई दुःख दिने र आतंकित पार्ने कार्यमा उत्रिएको हुँदा यस्ता राज्य आतंक मच्चाउने र नेपाली तरुणहरूलाई गिद्धे दृष्टि लगाउने कार्य तुरुन्त बन्द गर्न नेपाल तरुण दल भ्रष्ट एवम् बलात्कारीको मतियार बनेको सरकार र यसको भिजिलान्ते प्रशासनलाई चेतावनी दिँदै हाम्र तरुण नेतालाई तत्काल विनार्शत रिहा गर्न जोडदार माग गर्दछौँ ।’

अध्यक्ष बस्नेतले भनेका छन्, ‘हाम्रो आग्रहलाई बेवास्ता गरी तरुण नेता राधाकृष्ण भण्डारीलाई तुरुन्त रिहा नगरे तरुण दल सरकारको जनविरोधी एवम् अलोकतान्त्रिक शैलीका विरुद्ध आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार आफै हुने चेतावनी यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ ।’

नेपाल तरुण दल धादिङका अध्यक्ष राधाकृष्ण भण्डारीसहितका चार जना युवाहरूलाई प्रहरीले गुण्डागर्दी गरेको अभियोग लगाउँदै पक्राउ गरेको दाबी गरेको छ ।
फोहर फ्याकेको विषयमा झगडा हुँदा राधाकृष्ण भण्डारीसहितका चार जना युवाहरूलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

Published : Thursday, 2019 June 6, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया