कांग्रेसद्वारा काठमाडौंमा रक्तदान, विश्वप्रकाश आफैले दिए रगत

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका क्रममा काठमाडौंमा रक्तदान गरेर आफ्नो अभियानलाई अझै सार्थकता दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ‘मेरो रगत कसैको जीवन’ भन्ने उद्घोषका साथ रक्तदान गरिएको छ । बिहीबार बिहान साढे दश बजेदेखि भृकुटीमण्डपमा रक्तदान गरिएको थियो ।

रक्तदानको उद्घाटन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रक्तदान गरेर गरिएको थियो । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसहितका युवा नेता र कार्यकर्ताहरूले गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका युवा, विद्यार्थी र नेताहरूका साथै सर्वसाधारणहरूको पनि सहभागिता रहेको थियो ।

प्रवक्ता शर्माले बेलाबेला रक्तदान गर्नुपर्ने बताए । ‘बेलाबेला रक्तदान गर्नुपर्छ’, उनले भने, ‘आफ्नो स्वास्थ्यलाई पनि राम्रो हुन्छ । कसैको जीवन पनि बच्छ । यो पून्यको काम सहभागी हुन म सबैलाई अपील गर्छु ।’

राजनीति मात्रै होइन समाजलाई पनि केही दिनुपर्छ भन्ने सोँचका साथ जिल्ला सम्पर्क समितिहरूको विशेष पहलमा रक्तदान कार्यक्रम गरिएको हो ।

कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध विभिन्न मोर्चाहरूबाट आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले रक्तदानलाई पनि आफ्नो आन्दोलनका रुपमा ब्याख्या गरेको छ ।

आन्दोलन गरेर जनतालाई दुःख दिने मात्रै होइन रचनात्मक कामहरू गरेर जनताको पीरमर्का र जीवन रक्षा गर्नुपर्छ भन्ने मान्यताका साथ कार्यक्रमहरू गरिएको शर्माले बताए ।

काठमाडौंमा बिहीबार रक्दान गरेका नेपाली कांग्रेसका प्रवक्ता शर्मा दोलखाको कार्यक्रममा सहभागी हुन बिहीबार राति चरिकोट पुगेका छन् । शर्माभन्दा अगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य रामकृष्ण यादवसहितका नेताहरू पुगिसकेका छन् ।

कम्युनिस्ट सरकारका गलत क्रियाकलाप र अधिनायकवादविरुद्ध कांग्रेसले आफूलाई शसक्त बनाउँदै लगेको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाली कांग्रेसले आफूलाई जोडदार रुपमा उभ्याउँदै आएको छ ।

Published : Thursday, 2019 June 6, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया