कांग्रेस नेता खाँणको टिप्पणीले कम्युनिस्टहरूको टाउको दुख्यो

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले संसदमा पेश गरेको बजेटलाई कागजको घोडा भनेका छन् ।

बिहीबार बसेको संसदको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै खाँणले बजेट कागजको घाडा जस्तै भएको बताए ।

कांग्रेस नेता खाँणले सरकार र बजेटको कठोर आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले मुखामुख गरेका थिए । अर्थमन्त्री डा.युवराज खतिवडाले अनुहार खिन्न बनाएका थिए ।

उनले पुँजीगत खर्च र विकास खर्चभन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने बताए । ‘कागजको घोडा जस्तै बजेट छ । न यसले घाँस र दाना खाला, न यसले सवारी बोक्न सक्ला ?’, उनले भने, ‘ऋणात्मक बजेट जो पुँजीगत खर्च गर्न सकेको छैन ।’

उनले भने, ‘पुँजीगत खर्च गरेर शान्ति र सम्मृद्धि ल्याउनुप¥यो नि । पुँजीगत खर्च गर्न नसक्ने । विकास खर्च गर्न नसक्ने । बजेट वृद्धि हुने, विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने, विकास खर्च गर्नै सक्दैन ।’

‘यो कागजको घोडा भयो । कागजको घोडा दौडाएर कहिँ पुगिँदैन’, कांग्रेसका सांसद खाँणले भने, ‘पोहोर साल कागजको घोडा अलि सानो थियो । यसपाली कागजको घोडा अलि ठूलो भएछ । अझै ठूलो बनाइदिएको भएपनि हुन्थ्यो ।’

सांसद खाँणले अझै ठूलो बजेट बनाएको भए रेलै आउने भन्दै कटाक्ष गरेका छन् ।

‘ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला । रेल आउथ्यो होला’, उनले भने, ‘जनतालाई पानीजहाज र रेल चढ्ने इच्छा छ ।’

‘देशभित्रै पानीजहाज चढ्ने इच्छा छ । त्यो इच्छा पूरा गर्थ्यो होला’, उनले भने, ‘यो कागजको घोडाले त्यो इच्छा पूरा गर्ने भएन । दुःख लाग्या छ ।’

कांग्रेस नेता खाँणले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरेपनि बजेटले संघीयताको आधारशीलालाई नमानेको बताए ।

समाजवाद हुँदै साम्यवादोन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुँदै पुँजीवाद उन्मुख भएको उनले बताए ।

कर्मचारीको तलब वृद्धि भएपनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको उनले बताए । नेता खाँणले वृद्धभत्ताका लागि ७० वर्षबाट ६५ वर्षमा कायम गर्ने निर्णय पूर्ववर्ती कांग्रेस सरकारले गरेको भन्दै त्यही मापदण्ड लागू गर्न आग्रह गरेका छन् ।

खाँणले पूर्ववर्ती सरकारले स्पाइनल कर्ड इन्जुरी, मटु, र्मिगौला र क्यान्सर रोगका बिरामीलाई र्निवाह भत्ताका लागि प्रतिमहिना ५ हजार दिने कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गरेका छन् ।

Published : Thursday, 2019 June 6, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया