कम्युनिस्ट सरकारद्वारा तरुण दलका उपाध्यक्ष भण्डारी पक्राउ

धादिङ । प्रहरीको निगरानीमा रहेको भनिएका नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधे भण्डारी पक्राउ परेका छन् ।

प्रहरीले भण्डारीलाई धादिङ जिल्लाको गजुरी गाउँपालिकाको मलेखुबाट बुधबार साँझ पक्राउ गरेको हो । भण्डारीसहित पक्राउ पर्नेमा सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य र समिर थापा मगर रहेका छन ।

उनको साथबाट हतियार बरामद भएको प्रहरीले जनाएको छ । यद्यपि, भण्डारीका आफन्तहरूले प्रहरीले राजनीतिक प्रतिशोध साँधेर कम्युनिस्ट सरकारकाे दवावमा पक्राउ गरेको दाबी गरेका छन् ।

ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि भण्डारीले आक्रमण गरेको दाबी गरिएको छ ।

भण्डारीलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरीको भनाइ छ ।

भण्डारीको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।

धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।

दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी ‘चरी’ समूहका आयुप तामाङको हात काटिदिएका थिए ।

भण्डारीले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा ‘चरी’लाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए । त्यसपछि भण्डारी चर्चामा आएका थिए ।

यो घटनामा भण्डारी पक्राउ परेपनि राजनीतिक दबाबमा डेढ लाख रुपियाँ धरौटीमा छुटेका थिए । त्यतिबेलादेखि नै प्रहरीले भण्डारीलाई खोजी सूचीमा राखेको थियो ।

यद्यपि, ०७१ साउन २१ गते काठमाडौंको भीमढुंगामा प्रहरी इन्काउन्टरमा ‘चरी’ मारिएका थिए ।

Published : Thursday, 2019 June 6, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया