सञ्चारमन्त्री बास्कोटालाई लगातार झट्का, कार्यक्रम नै बहिस्कार

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको कार्यक्रम बहिस्कार गरेको छ ।

मंगलबार प्रदेश ३ को राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न हेटौंडा आएका सञ्चारमन्त्री बास्कोटा सहभागी भएको कार्यक्रमलाई प्रेस युनियनले बहिस्कार गरेको हो । प्रेस युनियनले देशैभरि मन्त्री बास्कोटाको कार्यक्रम बहिस्कार गर्दै आएको छ ।

नेपाल सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरेको आमसञ्चार विधेयकका विरुद्धमा मन्त्री बाँस्कोटाको कार्यक्रम बहिस्कार गरिएको नेपाल प्रेस युनियन मकवानपुरका शाखाका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’ले जानकारी दिए ।

युनियनको केन्द्रीय कार्यक्रम अनुसार नै प्रेस युनियनले सञ्चारमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए ।

यसअघि युनियन मकवानपुर शाखाले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइँ, युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, सचिव केशव समर्पण, महासंघका पदाधिकारी, युनियनका पदाधिकारी र संचारकर्मीहरूको सहभागिता रहेको थियो ।

कांग्रेस निकटको प्रेस युनियनले आफ्नो कार्यक्रम बहिस्कार गरेपछि सञ्चारमन्त्री बास्कोटा तनाबमा परेका थिए ।

यसअघि कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री बास्कोटालाई प्रेस युनियनको नुवाकोट शाखाले कार्यक्रम बहिस्कार गरेर शुरुवात गरेको थियो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले विधेयकको विरोधमा आन्दोलन गर्दै आएको छ ।

मंगलबार मात्रै प्रेस युनियनले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई ज्ञापन पत्र बुझाइ विधेयकको विरोध गरेको छ ।

Published : Tuesday, 2019 May 14, 10:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया