कम्युनिस्टहरूले मच्चाएको भ्रष्टाचार र उत्पातबाट कांग्रेस हैरान
काठमाडौं । नेपाली कांग्रेसको जागरण अभियानमा स्थानीय नेता तथा कार्यकर्ताहरूले कम्युनिस्ट सरकारको ज्यादतीहरूका बारेमा अत्याधिक प्रश्न र जिज्ञासा राख्ने गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् सांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले मच्चाएको उत्पातका बारेमा धेरै कार्यकर्ताको जिज्ञासा रहने गरेको बताए ।
वाइडबडी खरिद, फोरजी, बालुवाटार जग्गा प्रकरण, संवैधानिक निकायमाथिको हस्तक्षेपविरुद्ध पार्टी किन कडा ढंगले बोल्न सकेन ? सरकारका गलत क्रियाकलापमा मूकदर्शक किन बनिरहेको छ ? नेताहरू प्रभावकारी ढंगले आवाज उठाउनुस् भनेर सुझाव आउने गरेको छ ।
‘पार्टी जागृत बनाउन जिल्लाजिल्लामा आउनुभएको छ, तर तपाईंहरू आफैं अहिलेसम्म किन जागृत हुनुभएको छैन ?’, सुझावहरूमा भनिएको छ, ‘पहिले आफैँ जागृत हुनुहोस् अनि हामीलाई सिकाउनुस् ।’
कार्यकर्ताहरूले हामीलाई पार्टी एकढिक्का बनाएर अगाडि बढ्नुपर्छ भनेर सिकाउनुहुन्छ, तर तपाईं नेतृत्वमा बस्ने नेताहरू सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतका नेताहरू किन गुटबन्दी गर्नुहुन्छ ? पहिले केन्द्रमा आफैँ मिल्नुस्, ज–जसको गुट छ त्यो अन्त्य गर्नुस् भनेर सुझाव आएको नेताहरूले बताएका छन् ।
‘संघीयता कार्यान्वयन गर्ने भनेर निर्देशन दिनुहुन्छ । तर, अहिलेसम्म प्रदेश समितिसमेत किन बनाउनुभएको छैन ? वडा र प्रदेश भेला गर्नुअघि संक्रमणकालीन व्यवस्थाअनुसार समिति बनाउनुस्’, सुझावमा भनिएको छ ।
‘गुटबन्दी गरेर भ्रातृ संस्थाहरूलाई पंगु किन बनाउनुभयो ? नेविसंघलाई व्यवस्थित गर्नुस्’, सुझावलाई उदृत गर्दै एक जना केन्द्रीय प्रतिनिधिले भने, ‘तरुण दललाई विस्तार गर्नुस्, महिला संघलाई सक्रिय बनाउनुस् ।’
‘निर्वाचनका अन्तर्घातीलाई अहिलेसम्म किन कारबाही गर्नुभएन ? पार्टीमा यसरी नै अनुशासन कायम हुन्छ ?’, सुझावमा भनिएको छ, ‘अनुशासनहीनहरूलाई कारबाही गर्नुस्, १४औँ महाधिवेशनको कार्यक्रम शुरू गर्नुस् ।’
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले स्थानीय नेता तथा कार्यकर्ताले गाउँमा जागरण अभियानबाट धेरै खुसी भएको बताए । जागरण अभियानबाट गाउँका कार्यकर्तासँग भेटेर केन्द्र र गाउँका सम्बन्ध जोड्न सकेको खनालले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत