ओलीको अधिनायकवादविरुद्ध लड्न तयार हुनुस्ः नवीन्द्रराज जोशी

भरतपुर । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार लोकतान्त्रिक मार्गबाट आई अलोकतान्त्रिक मार्गमार्फत अधिनायकवादतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस चितवन र नवलपुर जिल्ला कार्यसमितिले संयुक्त रुपमा बुधबार भरतपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय मजदुर दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले ओली सरकार दिन प्रतिदिन निरंकुश बन्दै गएको बताए ।

वर्तमान सरकार ईतिहासकै भ्रष्ट र नालायक सरकार रहेको उनले बताए । कम्युनिस्टहरू संस्थागत भ्रष्टाचारमा व्यस्त रहेको आरोप पनि कांग्रेस नेता जोशीले लगाए ।

‘कांग्रेसका सामु दुई विकल्प छन् । कि यथास्थितिवादमा बस्नुपर्‍यो या त लोकतान्त्रिक व्यवस्थाका निमित्त पुनः बलिदान दिनुपर्‍यो’, उनले भने ।

उनले मजदुरहरूकै कारण कांग्रेस टिकेको बताए । ‘कांग्रेसको मेरुदण्ड मजदुरहरू हुन्’, उनले भने, ‘कांग्रेस र लोकतान्त्रिक आन्दोलन मजदुरहरूकै कारण अढिएको छ ।’

उनले नेपाली कांग्रेस पार्टीको सभापति र अधिकांश नेताहरू मजदुर आन्दोलनबाट आएको बताए ।

श्रमिकका हक अधिकारीको लागि कांग्रेस सधै लडिरहने नेता जोशीले बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ र नवलपुर जिल्लाका सभापति विष्णु लामिछानेलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Wednesday, 2019 May 1, 9:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया