पराजित भएरपनि गाउँका जनताको काम गर्दै कांग्रेसका नेता राणा, पुगे अनुगमन गर्न (तस्वीर)

ललितपुर । ललितपुर जिल्लाको ठैब–गोदामचौर–विशंखुनारायण–गोदावरी सडकखण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा स्वीस प्रोजेक्ट अन्तर्गत उक्त सडक निर्माण शुरू भएको हो ।

पूर्वअर्थराज्यमन्त्री एवम् ललितपुर क्षेत्र नम्बर १ बाट तत्कालीन समयमा निर्वाचित सांसद उदय शम्शेर राणाको पहलमा उक्त परियोजना सञ्चालनमा आएको थियो ।

कांग्रेसका युवा नेता राणा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपनि आफ्नो क्षेत्रको विकास निर्माणमा भइरहेको प्रगति विवरण बेलाबेला लिने गरेका छन् । उनले गाउँका जनताको दुःख कष्ट बुझ्नुका साथै समस्याको समाधानको पहल गर्दै आएका छन् ।

२०७२ सालको भूकम्प पछाडि भूकम्प प्रभावित क्षेत्र १४ जिल्लाभित्र जुनसुकै स्थानमा गर्नुपर्ने भएपनि पूर्वराज्यमन्त्री राणाको पहलमा उक्त योजना यसक्षेत्रमा परेको थियो ।

पूर्वअर्थराज्यमन्त्री राणाले मंगलबार उक्त सडकको स्थलगत अवलोकन गरेका छन् । राणाले सडक निर्माणको कार्य सन्तोषजनक भएको भन्दै बाँकी कामलाई तीब्रता दिन निर्देशन दिएका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका मनोहर सिलवालले कांग्रेसका युवा नेता एवम् पूर्व अर्थराज्यमन्त्री राणाले अहिलेसम्म भएको कामको जानकारी लिएको बताए ।

‘पूर्वराज्यमन्त्रीज्यूको पहलमा यो सडकका लागि रकम आएको हो । उहाँले पटक–पटक यो सडकको अवलोकन गर्दैआउनुभएको छ’, सिलवालले भने, ‘त्यसैको निरन्तरता आज पनि भएको हो । यसलाई चाँडो सम्पन्न गर्न पनि उहाँले निर्देशन दिनुभयो ।’

एक अर्ब चार करोड रुपियाँमा यो सडक निर्माण भइरहेको सिलवालले बताए । ठैब–गोदामचौर सडकखण्डको काम सम्पन्न भइसकेको छ । गोदामचौर, किटाचौर, बिष्टछाप, पातले छाप, माण्डाँडा, विशंखु हुँदै गोदावरी बसपार्कसम्मको सडक भागमा पनि काम अन्तिम चरणमा पुगेको छ ।

उक्त स्थानमा अहिले कालोपत्रे भइरहेको छ । सिलवालका अनुसार उक्तखण्डमा आधा किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी छ ।

सडकअन्तर्गत गोदावरीदेखि पौडोल, बडिखेलको कोड्कु हुँदै लेलेसम्मको ट्रयाक खोल्ने काम पनि भइरहेको छ ।

निर्माणाधीन सडकको अनुगमनका लागि कांग्रेसका युवा नेता राणासँगै गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष हरिहर कार्की, वडा नम्बर २ का अध्यक्ष देबेन्द्र बस्नेत लागायत स्थानीय सहभागी थिए ।

‘विकासमा सबै सरकारी, गैसरकारी, दातृनिकायका साथै स्थानीय नागरिकको हातेमालो आवश्यक छ’, पूर्व अर्थराज्यमन्त्री राणाले भने, ‘सबैको सकारात्मक पहलले मात्र विकास सम्भव हुन्छ । म यो सडक निर्मणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

Published : Tuesday, 2019 April 30, 10:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया