कांग्रेसका युवा–विद्यार्थीको भेला, कम्युनिस्टसंग भिड्न एक हुनुपर्ने निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकटका युवा नेताहरूको काठमाडौंमा गोप्य भेला भएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित श्रीखण्ड होटेलमा मंगलबार पौडेल समूहका युवा विद्यार्थी नेताहरूले भेला गरेर सभापति शेरबहादुर देउवाले पार्टी चलाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

युवा विद्यार्थी नेताहरूले पार्टीका नेताहरूलाई जिम्मेवारी दिन नसक्दा कम्युनिस्टहरूको मनोबल बढ्दै गएको बताएका थिए ।

उनीहरूले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध पार्टी नेतृत्वले गतिविधि गर्न नसकेको भन्दै आपत्ति जनाए । कम्युनिस्ट सरकारको अधिनायकवाद र प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भिड्न कांग्रेस एकजुट भएर जानुपर्ने बताएको एक नेताले बताए ।

स्रोतका अनुसार पौडेल समूहका युवा विद्यार्थी नेताहरूले रिक्त रहेका भ्रातृ संगठनहरूमा नियुक्ति गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको थियो ।

वैशाख २५ गतेदेखि नेपाली कांग्रेसले देशभरि जागर अभियान चलाउँदै गरेका बेला पौडेल समूहका युवा विद्यार्थी नेताको गोप्य भेला भएको छ ।

भेलामा पौडेल समूहका नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्य, प्रतिमा गौतम, विनिता अधिकारी, टेकराज पौडेल, मनोहरि श्रेष्ठ, मोती भण्डारी, भानु सिग्देल, सीताराम केसी, दीपक पोखरेल, सीता सापकोटा, गजेन्द्र कार्की, प्रमोदहरि गुरागाइँ, कल्पना खड्का, नवीन राई, उज्वल घिमिरे, दीपक भट्टराई, सतन घिमिरे, हरिजी खड्का, शर्मिला थापा, विनोद पण्डित, गोमा केसी, कुसुम थापा, दामोदर कोइराला, जगदीश वम, रमेश कार्की लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका सभापति देउवाविरुद्ध पौडेल समूहका युवा विद्यार्थी नेताहरूको अभिव्यक्ति केन्द्रित रहेको थियो । यद्यपि, उनीहरूले पार्टीभित्रको विवादलाई मिलाएर जानुपर्नेमा भने एकमत प्रकट गरेका थिए ।

Published : Tuesday, 2019 April 30, 9:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया