ओलीको कम्युनिस्ट सरकारसँग अरिंगालहरू मात्रै खुसीः सुरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले वर्तमान कम्युनिस्ट सरकारसँग प्रधानमन्त्री खड्गप्रसाद ओलीका ‘अरिंगाल’हरू मात्रै खुसी रहेको टिप्पणी गरेका छन् ।

सोमबारदेखि शुरु भएको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता पाण्डेले ओली सरकारसँग कुनै पनि जनता खुसी नभएको बताए ।

‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेका थिए । दुई तिहाइको सरकारले धेरै काम गर्छ भनेर ठानेका थिए’, उनले भने, ‘ओलीजीको सरकारसँग कोही खुसी छ भने ओलीजीकै अरिंगालहरू मात्रै खुसी छन् । अरु कोही पनि खुसी छैनन् ।’

प्रधानमन्त्री ओलीलाई विगतमा नेपाली कांग्रेसका प्रधानमन्त्रीहरूलाई जस्तो असहज परिवेश नरहेको उनले बताए ।

‘वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालाई जस्तो ओलीजीलाई कुनै चुनौती थिएन’, उनले भने, ‘अनुकूल समय र परिवेश हुँदा हुँदै पनि वर्तमान प्रधानमन्त्री ओलीजीले काम गर्न सक्नु भएन । एक वर्षको मूल्यांकन गर्‍यौँ भने प्रधानमन्त्रीले निर्वाचनका बेला गरेको प्रतिवद्धताअनुसार यो सरकारले काम गर्न सकेन ।’

केन्द्र र सातमध्ये छ वटा प्रदेशमा नेकपाको सरकार रहेको बताएका कांग्रेसका नेता पाण्डेलले सबै कुरा अनुकूल हुँदा पनि ओलीले कामै गर्न नसकेको बताए ।

‘भाषण र उखानहरू धेरै सुन्यौँ’, उनले भने, ‘भारतबाट आउने पानीजहाज र चीनबाट आउने रेलको कुरा गर्नु हुन्छ ओलीजी । त्यसमा हाम्रो आपत्ति छैन । रेल र पानीजहाजबाट शान्ति सुरक्षा आएन ।’
देशमा शान्ति सुरक्षा बिग्रिदै गएको आरोप लगाएका पाण्डेले ओलीकै गृहजिल्लामा व्यक्ति हत्या हुँदा पनि प्रहरीले जाहेरी लिन नमानेको बताए ।

बालुवाटारको सरकारी जग्गा सत्तारुढ दलकै नेताले किनेर कब्जा गरेको भन्दै उनले भने, ‘देशमा अराजकता बढेको छ । भ्रष्टाचार बढेको छ । देशमा बेथिति छ । प्रहरी हिरासतमा बालकको मृत्यु भएको छ । तरुण दलका कार्यकर्ताको हत्या भएको छ ।’ कांग्रेस नेता पाण्डेले दुई तिहाइको सरकारले कुनै पनि विषयमा जिम्मेवार भएर जवाफ दिन नचाहेको उनले बताए ।

९० प्रतिशत काम सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनालाई बिथोल्ने काम भइरहेको उनले बताए । ‘यो सरकारले मेलम्ची खानेपानीको ठेकेदारसँग पैसा मागेर भगाउन खोजिएको छ’, कांग्रेस नेता पाण्डेले भने, ‘मेलम्ची खानेपानी आयोजनालाई राजधानीमा नल्याउन यो षड्यन्त्र गरिएको छ । भ्रष्टहरूलाई कारबाही गर्नुपर्छ ।’

वाइड बडी जहाज खरिदको भ्रष्टाचार रोक्न कम्युनिस्ट सरकारले शाही आयोज जस्तो अर्को आयोग बनाएर दोषीलाई उम्काउन छानविन आयोग बनाएको उनले बताए ।

बालुवाटारको सरकारी जग्गा भूमाफियाहरूको चंगुलमा सत्तारुढ दलका नेताहरू संलग्न भएर हडप्ने कार्यको नेपाली कांग्रेसलाई अस्वीकार्य रहेको भन्दै पाण्डेले जति नै ठूला व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताए ।

टुंडीखेललाई माफियालाई दिएर कब्जा गर्ने योजना बनाएको भन्दै कांग्रेसका नेता पाण्डेले भने, ‘देशमा भ्रष्टाचार भएको छ । नेपालमा भ्रष्टाचार बढेको छ ।’

Published : Monday, 2019 April 29, 9:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया