कांग्रेस डराउनु पर्दैन पानीजहाज र रेल आउँछः मन्त्री राई

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तिायक राईले विकासको मामिलामा राजनीति नगर्न प्रतिपक्ष दलहरूलाई आग्रह गरेका छन् ।

राजधानीमा आईतवार राष्ट्रिय ख्रिष्टियन महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री राईले सरकारले विकासको कुरा गर्दा प्रतिपक्ष दलहरू अत्तालिएको बताए । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उनले विकास कामहरूलाई अवरोध नगर्न आग्रह गरे ।

‘विकासको कुरामा प्रतिपक्ष र सत्तापक्ष भन्ने हुँदैन, तर प्रतिपक्षका साथीहरू सरकारले सम्बृद्धिको योजना अघि सार्दा आत्तिनु भएको छ’, मन्त्री राईले भने, ‘पिर नगर्नहोस् यो सरकारले पानीजहाज र रेल चलाएरै छाड्छ । अन्य ठूला खाले विकासका योजना पनि अब अघि बढ्छन् ।’

३ महिनाको कामचलाउन सरकारको नेतृत्व गर्दा कांग्रेसले करीव ८ खर्बको दायित्व थपिदिएकाले केही ठूलो आयोजनामा तत्काल स्रोत व्यवस्थापन गर्न सरकारलाई अफ्ठेरो परेको उनको भनाई छ ।

धर्मका नाममा केही स्वार्थ समूहले राजनीति गर्न खोजेको भन्दै मन्त्री राईले भने, ‘संविधानविरुद्ध गतिविधि गर्ने जोसुकैलाई पनि सरकारले कारवाही गर्छ ।’

संविधान र कानूनको बर्खिलाप गर्ने समूहलाई सरकारले प्रतिवन्ध लगाएको स्मरण गराउँदै मन्त्री राईले धर्मका नाममा संविधान बिरोधी गतिविधी गर्न खोज्ने अन्यलाई पनि सरकारले बन्देज लगाउन सक्ने चेतावनी दिए ।

कुनैपनि धर्मले अरु धर्मप्रति घृणा नभई सम्मान गर्न सिकाएको भन्दै धर्मको राजनीति गरेर दलीय स्वार्थ पूरा नहुने उनको भनाई छ ।

विगतमा सरकारसँग भएका सम्झौता पूरा गर्न सरकारमा गएकाले संविधान संशोधनको माग छिट्टै सम्बोधन हुने उनको दावी छ ।

Published : Sunday, 2019 April 21, 9:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया