देशबाट कम्युनिस्टहरूको उन्मुलन गर्नुपर्छ, जरैदेखि उखेलेर फाल्ने होः जितजंग बस्नेत

पोखरा । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कांग्रेसका भ्रातृ संगठनहरूलाई क्रियाशील बनाउनुपर्ने बताएका छन् ।

पोखरामा बिहीबार नेपाली कांग्रेसका कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले देश चुनौतीपूर्ण अवस्थामा रहेका बेला निकास दिन कांग्रेसले आफ्ना भ्रातृ संगठनहरूलाई सक्रिय बनाउनुपर्ने बताएका हुन् ।

कम्युनिस्ट सरकारको नालायकीपनाले देश द्वन्द्वतर्फ जान लागेको उनले बताए । ‘विप्लवले हतियार उठाएका छन् । कम्युनिस्ट सरकार हरेक क्षेत्रमा दमनमा उत्रिएको छ । तराईमा बिखण्डनकारी सलबलाएका छन्’, बस्नेतले भने, ‘यस्तो अवस्थामा देशको राष्ट्रियता र सार्वभौमसत्ताका लागि नेपाली कांग्रेसको काँधमा दायित्व आइपुगेको छ । कांग्रेस सक्रिय बन्नुपर्छ ।’

सत्तारुढ नेकपाको महासचिव जस्तो व्यक्तिले सरकारी जग्गा किनेर त्यसलाई बैधानिकता दिन खोजेको तरुण दलका अध्यक्ष बस्नेतले आरोप लगाए ।

‘महासचिव जस्तो व्यक्ति विष्णु पौडेलले ललिता निवासको सरकारी जग्गा किनेर त्यसलाई त्यसलाई बैधानिकता दिन खोजेका छन् । खुलेआम रुपमा सरकारी जग्गा किनेको भनेर विष्णु पौडेलले स्वीकार गरिरहेका छन्’, उनले भने, ‘यो देशका सरकारी जग्गा खरिद बिक्री हुन सक्छन् । भोलि टुँडीखेल केपी ओलीको नाममा आउन सक्छ । अनि मैले किनेको हो । जग्गा दलालसँग किनेको हो भन्ने अवस्था आउन सक्छ ।’ उनले मुलुकका सरकारी जग्गाहरू सुरक्षित नरहेको बताए ।

निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा समेत यो सरकारले पत्ता लगाउन नसकेको भन्दै तरुण दलका अध्यक्ष बस्नेतले कम्युनिस्ट सरकारको आलोचना गरे ।

‘गृहमन्त्रीज्यू कतै तपाईको परिवारको छोरा त निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा संलग्न त छैनन् ? निर्मलाको बलात्कार र हत्या भएको दिनमा उनी कञ्चनपुरमा देखिएका थिए । एयरपोर्टका फुटेजहरू आउँदा र जाँदाका किन डिलेट भयो ? हाम्रो प्रश्न हो’, उनले भने, ‘यो घटनाले गृहमन्त्री बादलका सपनाहरू चकनाचुर भएर जानेछन् ।’

देशमा भ्रष्टाचार भएको भन्दै उनले बुढीगण्डकीमा ठूलो भ्रष्टाचार भएको बताए । ‘मेलम्ची खानेपानी आयोजनामा अर्बौंको भ्रष्टाचार भएको छ । कृष्णप्रसाद भट्टराईले देख्नुभएको सपना आज कम्युनिस्ट सत्ताले भ्रष्टाचार गरेर बिथोको छ’, अध्यक्ष बस्नेतले भने, ‘प्रचण्डको बुहारी आज मेलम्ची खानेपानी आयोजनालाई ध्वस्त बनाएकी छिन् । भ्रष्टाचार गरेकी छिन् ।’

न्यायाधीश, कर्मचारीलाई धम्काउने काम कम्युनिस्ट सरकारले गरेको उनले बताए । प्रहरी प्रशासनलाई धम्काएको भन्दै सेनालाई समेत त्रर्साउने कार्य भएको बस्नेतले बताए ।

नेपाली कांग्रेसले मुलुकमा ठूलाठूला परिवर्तन गरेको बताएका अध्यक्ष बस्नेतले भने, ‘यो देशबाट कम्युनिस्टहरूको उन्मुलन गर्नुपर्छ । जरैदेखि उखेलेर फाल्नुपर्छ । यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ ।’

कांग्रेसका नेताहरूका बीच एकताको आग्रह गरेका तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘भ्रातृ संगठनहरूलाई क्रियाशील बनाएर कांग्रेसलाई सक्रिय बनाउनुपर्छ । पार्टीका नेताहरू एकता हुनुपर्छ ।’

Published : Thursday, 2019 April 11, 8:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया