तस्करसँग मिलोमतो गर्ने एसएसपीसँग आइजीपी आक्रोशित, घटनाले लियो नाटकीय रुप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले आफै फस्ने भएपछि मध्यराति व्यापारी सुवाश श्रेष्ठलाई पक्राउ गरेका छन् ।

शुक्रबार दिउँसो ठूलो परिणाममा अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यापारी श्रेष्ठलाई एसएसपी भण्डारीले छाडिदिएका थिए ।

पाँच जनाको परिवारसहित शुक्रवार दिउँसो थाई एअरको फ्लाइट नम्वर टीजी ३२० द्वारा बैंकक जान लागेका बेला व्यापारी श्रेष्ठलाई सादा पोशाकका प्रहरीहरूले ठूलो परिणाममा अवैध विदेशी मुद्रासहित नियन्त्रणमा लिएका थिए ।

पक्राउ गरेको केही समयमा उल्टै पक्राउ गर्नेलाई हकारेर एसएसपी भण्डारीले व्यापारी श्रेष्ठलाई छाडेका थिए । तर, श्रेष्ठलाई छाडेको र विदेशी मुद्राको विवरण तथा तस्वीर नै केही यात्रुहरूले सार्वजनिक गरेपछि आफै फस्ने डरले एसएसपी भण्डारीले शुक्रबार मध्यराति कागजमा हस्ताक्षर गर्न आउन बोलाएर व्यापारी श्रेष्ठलाई पक्राउ गरेका हुन् ।

एसएसपी भण्डारीले शनिबार बिहान ७ बजे प्रेस रिलिज पठाएर सुवास श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको जानकारी गराएका छन् ।

शुक्रबार एसएसपी भण्डारी र व्यापारी श्रेष्ठको सेटिङ फेल खाएको छ । अब एसएसपी भण्डारीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयमाथि दबाब परेको छ ।

फ्रान्समा रहेका आईजीपी सर्वोन्द्र खनालले विमानस्थलको शुक्रबारको काण्डको रिपोर्टिङ सुनेपछि आक्रोशित भएको उच्च स्रोतले जनाएको छ । आइजीपी खनाल रिसाएको थाहा पाएपछि एसएसपी भण्डारीले श्रेष्ठलाई झुक्काएर बोलाइ पक्राउ गरेका हुन् ।

किनकी व्यापारी श्रेष्ठ अबैध विदेशी मुद्रा तस्करीका बादशाह हुन् । श्रेष्ठकै सेटिङमा एसएसपी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख बनेको त्यति बेलै आरोप थियो ।

विमानस्थलको अति संवेदनशील क्षेत्र स्टराइल कक्षमा रहेको आफ्नै कफी शपबाट व्यापारी श्रेष्ठले तस्करी गर्दै आएका छन् ।

श्रेष्ठको होटेल स्वनिगाको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा सञ्चालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको समेत स्रोतको दावी छ ।

राजपा नेपालका संयोजक शरतसिंह भण्डारीले पर्यटनमन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराई निर्जला राउत र व्यापारी श्रेष्ठको साझेदारीमा रहने गरी त्रिभुवन विमानस्थलको स्टराइल कक्षमा टि कफी सप सञ्चालन गर्न अनुमति दिलाएका थिए ।

श्रेष्ठले भने सोही पसलालाई माध्यम बनाइ डलर र विदेशी मुद्रा तस्करी गर्दै आइरहेका छन् । श्रेष्ठले विदेश जाने बहानामा विदेशी मुद्रा तस्करी गर्दै आइरहेको हुँदा उनको ‘ट्राभल हिस्ट्री’को बारेमा प्रहरीले अनुसन्धान गर्ने हो भने विदेशी मुद्रा तस्करी गरेको पुष्टि हुने एक व्यापारी बताउँछन् ।

विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डिङ गेट नम्बर–५ बाट पक्राउ परेका सुवास श्रेष्ठलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइनेछ ।’

शुक्रवार अपरान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टीजी ३२० मार्फत श्रेष्ठ परिवारका पाँच सदस्यसहित बैंकक जाँदै थिए । ठूलो परिणाममा अवैध डलर बोकेको सुराकी पाएपछि विमानस्थलमा कार्यरत सिभिल प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

श्रेष्ठकी श्रीमती उमादेवी श्रेष्ठ, दुई छोरीहरू र एक छोरालाई भने छाडिएको प्रहरीले जनाएको छ । श्रेष्ठको साथबाट थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनियाँ युआन ८० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

Published : Saturday, 2019 April 6, 2:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया