ओलीको अहँकारले देशलाई नोक्सानी नै हुन्छः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा एवम् पूर्वसांसद रामहरि खतिवडाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली गम्भीर भुल गरेको बताएका छन् ।

उनले सहमति र सहकार्यको राजनीतिलाई कम्युनिस्ट सरकारले बेवास्ता गरेको बताए । ‘दुई तिहाइको दम्भ राख्नु हुँदैन’, उनले भने, ‘सहमति र सहकार्यबाटै मुलुकमा स्थायी राजनीति स्थापना हुन्छ । दम्भ र अहँकारले नोक्सानी गर्छ ।’

ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकाको श्री गणेश मावि ढुस्केमा आयोजित अभिभावक भेला तथा नरनाथ र रत्नमाया छात्रबृत्ती कोष स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले विप्लवसँग वार्ता गरेर समस्या समाधान गर्नुभन्दा पनि दमनको नीति लिएर द्वन्द्व निम्ताएको बताए ।

‘कम्युनिस्ट सरकारले विप्लवको नेकपालाई प्रतिबन्ध लगाएर उचित निर्णय गरेन’, उनले भने, ‘हिंसात्मक गतिबिधिले मुलुकलाई निकास दिँदैन भन्ने कुरा विप्लवजीले पनि बुझ्न जरुरी छ । हिंसा र दमनबाट समस्याको हल पनि आउँदैन ।’

कांग्रेस नेता खतिवडाले छिटोभन्दा छिटो विप्लवको नेकपासँग वार्ता गर्न सुझाव दिए । विप्लवलाई जनताका छोराछोरीलाई बम हान्ने काम गराउन नहुने उनले बताए ।

कांग्रेसका युवा नेता खतिवडाले जिल्लाको विकास र जनताको पीरमर्कामा सधै आफूले साथ दिने प्रतिवद्धता जनाए । ‘ओखलढुंगाबासीलाई मेरो साथ र समर्थन सधैँ रहन्छ’, उनले भने, ‘जिल्लाको विकास सबै मिलेर गर्ने हो । यहाँबाट जितेर गएका सांसद र जनप्रतिनिधिले पनि ध्यान दिनुपर्छ ।’

नरनाथ र रत्नमाया छात्रबृत्ती १ लाख १ हजार १ सय ११ रुपियाँको छोराछोरीले कोष स्थापना गरिएको छ ।

नेता खतिवडाले छात्रबृत्ती स्थापना गर्ने क्रममा भने, ‘मान्छे जन्मिन्छन् र मर्छन् मरेर पनि जिउँदो हुने काम नरनाथ र रत्नमायाको परिवारले गरेका छन् । धन्यावाद र बधाई दिन चाहन्छु ।’

ओखलढुङ्गा प्रदेश ‘क’को नेपाली कांग्रेसको तर्फबाट उम्मेदर बनेका बरिष्ठ समाजसेवी मित्रसेन दाहालले नरनाथ र रत्नमायाको परिवारले समाजकै उदारहणीय काम गरेको बताए ।

परिवारका सदस्य तथा गणेश माविका अध्यक्ष एकराज दाहालले छात्रबृत्ती कोष बढेर जाने बताए । उनले कोषको ब्याजले हरेक वर्ष उत्कृष्ट १ छात्र र छात्रालाई छात्रबृत्ती प्रदान गर्ने उनले जानकारी दिए ।

Published : Saturday, 2019 March 30, 7:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया