नेपाली क्रिकेटले बनाएको कीर्तिमानमा पूर्वराजाले दिए बधाइ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।

शनिबार पूर्वराजा शाहको सम्वाद सचिवालयले विज्ञप्ति जारी गरेर अनेकौँ प्रतिकुलताका हासिल गरेको सफलताले नेपालको राष्ट्रिय गौरव बढाएको जनाएको छ ।

शाहले लेखेका छन्, ‘मित्रराष्ट्र चाइनाको हाङ्झाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले मङ्गोलियासँग खेलेको टी–२० क्रिकेट खेलमा नेपाली क्रिकेट टिम र खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाई अत्यन्तै खुसी तुल्याएको छ ।’

‘देशको राष्ट्रिय पहिचानले अनेकौँ चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौँ प्रतिकुलताका बावजुद जुन सफलता हासिल गरेका छन् यसले नेपालको राष्ट्रिय गौरव बढाएको छभन्ने हामीले महसुस गरेका छौँ’, पूर्वराजाले भनेका छन् ।

‘विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाई यो सफलताको लागि हार्दिक बढाई तथा शुभकामना’, विज्ञप्तिमा भनिएको छ ।

असोज १० गते एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको थियो ।

यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको छ ।

Published : Saturday, 2023 September 30, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया