काठमाडौंका एसएसपी लामालाई चोरहरुको चुनौतीले टेकुमा हँगामा

काठमाडौं । काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले पत्रकार सम्मेलन गरेर शान्ति सुरक्षा मजबुद भएको दाबी गरेकै रात काठमाडौंका आधा दर्जन स्थानमा चोरी भएका छन् ।

चोरहरुले एसएसपी लामालाई चुनौती दिँदै विभिन्न स्थानमा चोरी गरेका हुन् । गृहमन्त्री रामबहादुर थापाको विशेष पावर लगाएर दुई महिना अगाडि काठमाडौं प्रहरीको जिम्मेवारी लिएका एसएसपी लामालाई शान्ति सुरक्षा बनाउन नसकेको भनेर आलोचना पनि हुँदै आएको छ ।

एसएसपी लामाले आइतबार दशैँको अवसरमा विशेष सुरक्षा योजना सार्वजनिक गरेका थिए ।

काठमाडौंको शंकरापुर नगरपालिका ३ लप्सीफेदी बस्ने सुवर्ण श्रेष्ठको घरबाट कोही नभएको अवस्थमा सुनका विभिन्न गहना १.५ तोला र नगद २१ लाख समेत गरी करीव १ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरी समाचार कक्ष नक्सालबाट सोमबार जारी भएको विज्ञप्तिअनुसार काठमाडौं महानगरपालिका १६ नर्सरी चोक बस्ने ४५ वर्षीय उद्धव निरौलाको घरबाट कोही नभएको अवस्थामा करीब १ लाख ४२ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका ८ सुन्दरबस्तीस्थित लक्ष्मी शर्मा बरालको घरबाट १ थान ल्यापटप, १ थान टिभी र नगद ४ हजार समेत गरी करीब १ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरस्थित डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका ३ घर भएका सुजित घिसिङ्को कोठाबाट १ थान सुनको सिक्री र जापानी ऐन ७५ हजार गरी करीब १ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती नौं तलेस्थित हरि कुमार खत्रीको घरबाट सुनका विभिन्न गहनाहरु र नगद ३ लाख ५० हजार समेत गरी करीब ५ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

उता, ललितपुर महानगरपालिका २० सुनाकोठीस्थित सूर्यकला शाहको घरबाट सुनका विभिन्न गहना र नगद ५० हजार समेत गरी करीब २ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट चित्रपुर बस्ने ३३ वर्षीय राजेन्द्र कार्कीको घरबाट कोही नभएको अवस्थामा सुनका बिभिन्न गहना र नगद ३ लाख समेत गरी करीब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2018 October 1, 1:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया