कम्युनिस्टहरूविरुद्ध एक्लै हाबी भए कांग्रेसका यी खम्बा

कैलाली । कैलाली जिल्लाको धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर ओडविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जना प्रदेश सभाका सांसदहरूले कारवाही र शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिन पुगेका छन् ।

नेपाली कांग्रेसबाट विजयी भएका मेयर ओडले बिहीबार विज्ञप्ति जारी गरेर आवेगमा आएर आफूले दिएका अभिव्यक्तिहरूप्रति क्षमा माग गरेका छन् ।

मेयर ओडले बुधबार सत्ता पक्षका प्रदेशसभा सदस्यहरूले गोदावरी राजधानीको प्रस्ताव स्वीकृत गरे २४ घण्टाभित्र धनगढीबाट धपाउने र जलाएर मार्ने अभिव्यक्ति दिएका थिए ।

ओडले कैलालीका जनताको आवाज बोलेका थिए । तर, कम्युनिस्टहरूले उनको अभिव्यक्तिलाई तोडमोड गरेको आरोप कांग्रेसले लगाएको छ ।

ओडको अभिव्यक्तिको विरोधमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका २२ जना प्रदेश सभा सदस्यहरूले उजुरी दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

प्रदेश सभा सदस्यहरू लीलाधर भट्ट, प्रेमप्रकाश भट्ट, महेशदत्त जोशी, हर्कबहादुर कुँवर सहितका २२ जनाले प्रमुख जिल्ला अधिकारीलाई आफूहरूको सुरक्षाको पनि माग गरेका हुन् । कांग्रेस कैलालीले २२ जना प्रदेश सभा सदस्यहरूले ज्यानको सुरक्षा माग गर्नु राजनीतिक स्टन्ट मात्रै रहेको आरोप लगाएको छ ।

उजुरमा सत्ता पक्षका प्रदेश सभा सदस्यहरूको आफूहरूको पिछा गर्न संदिग्ध व्यक्तिहरू देखिन थालेको उल्लेख गरेका छन् । उनीहरूले निगरानी गर्न थालेको र धम्की आउन थालेको पनि जनाएका छन् ।

प्रदेश सभाका कम्युनिस्ट पार्टीका सदस्यहरूले कांग्रेसका मेयर ओडले बोलेको अडियो, भिडियो र पत्रपत्रिकाका कटिङ प्रमाणका रुपमा जिल्ला प्रशासनमा पेश गरेका छन् ।

मेयर ओडले विज्ञप्ति जारी गरेर आफूले आक्रोशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै माफी मागेका छन् ।

उनले दुईतिहाइको बलमा प्रदेशको राजधानी वन मास्ने गरी गोदावरी लग्ने प्रस्ताव आएकाले आक्रोशमा त्यस्ता शब्द आफ्नो मुखबाट निक्लेकोमा आत्मआलोचना गर्दै सच्चाउने उल्लेख गरेका छन् ।

मेयर ओडले वन मासेर गोदावरीमा राजधानी सार्ने प्रस्तावको जहिले पनि विरोधमै रहेको चेतावनी पनि दिएका छन् ।

Published : Thursday, 2018 September 27, 7:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया