निर्मला प्रकरणमा ठूलो दवावमा पर्‍यो प्रहरी, उठायो शक्तिशाली कदम

काठमाडौं । निर्मला पन्तको हत्याको घटना छानबिन गर्न नेपाल प्रहरीले डीआईजी धिरु बस्न्यात नेतृत्वको नौ सदस्यीय समिति गठन गरेको छ ।

भदौ १४ गते गठित एसएसपी उत्तम सुवेदी नेतृत्वको समितिलाई प्रहरी मुख्यालयले विस्तार गरेको हो । निर्मला हत्या प्रकरणको छानबिनको जिम्मेवारी मुख्यालयले डिआईजी बस्न्यातलाई दिएको छ ।

प्रहरी मुख्यालयले यो समितिलाई शक्तिशाली भनेको छ । एसएसपी उत्तम सुवेदी र अर्का एसएसपी नरेश शाही सदस्य रहेका छन् । प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापाले समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृतहरूलाई पनि सदस्य राखिएको बताए ।

निर्मलाको हत्या भएको दुई महिना बितिसक्दा पनि अपराधी पत्ता लागेको छैन । यस्तो अवस्थामा देशव्यापी दबाब बढिरहेका बेला प्रहरी प्रधान कार्यालयले सम्पूर्ण अधिकारसहित डिआईजीलाई छानबिनको जिम्मा सुम्पिएको छ ।

प्रवक्ता थापाका अनुसार निर्मला हत्यामा संलग्न भएको भन्दै एसपी डिल्लीराज विष्टसहितले मुख्य अभियुक्त बनाइएका दिलीपसिंह विष्ट र अर्का युवा चक्र बडूको डीएनए रिपोर्ट नेगेटिभ आएको सन्दर्भमा अपराधी पत्ता लगाउने सबै विधि यो समितिलले प्रयोग गर्नेछ ।

समितिले निलम्बनमा परेका सबै प्रहरी अधिकृतसँग बयान लिनेछ । समितिमा आपराधिक घटनामा गहन अनुसन्धान गर्दै आएका अधिकृतहरूलाई राखिएको छ ।

थापाका अनुसार निर्मला हत्याकाण्डपछि घटना ढाकछोपमा संलग्न भएका प्रहरी अधिकृतलाई कारबाहीका लागि समेत समितिले सिफारिस गर्नेछ ।

Published : Sunday, 2018 September 16, 3:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया