निर्मला हत्या प्रकरणमा मोटा मान्छेले ज्यानमार्ने धम्की दिएः केसी

काठमाडौं । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले भदौ १५ गते आफूलाई ट्रकले किचेर मार्ने धम्की आएको बताएका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर केसीले घटना स्थलमा भदौ १५ गते जाँदा आफूलाई ज्यान मार्ने धम्की दिइएको बताए । केसीले छानबिन समितिको सदस्यबाट दिएको राजीनामा फिर्ता लिएको पनि जनाएका छन् ।

समितिका तर्फबाट आफू एक्लै घटनास्थलमा गएका बेला मोटरसाइकलमा आएको मोटो व्यक्तिले मार्ने चेतावनी दिएको उनले बताए । ‘यसअघि यहाँ ट्रको ब्रेक फेल भएर मान्छे मरेका छन्’, केसीले भने, ‘तपाईंलाई पनि त्यस्तै होला भनेर चेतावनीपूर्ण तरिकाले भने ।’

केसीले धम्कीपछि आफू जिल्ला प्रशासन कार्यालयमा गएर बसेको बताएका छन् । बुधबार बिहान गृहमन्त्री रामबहादुर थापासँग भेटगरेपछि छानबिन समितिमा फर्किएको बताए ।

आफ्नो सुरक्षा र अपराधी पत्ता लगाउन गृहमन्त्री सहमत भएपछि आफू काममा फर्किएको केसीले बताएका छन् ।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिमा बसेर निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्ने भन्दै केसीले सोमबार राजीनामा घोषणा गरेका थिए ।

साउन १० गते १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भीमदत्त नगरपालिकामा हत्या भएको थियो ।

Published : Wednesday, 2018 September 12, 8:06 pm

1 प्रतिकृया प्राप्त “निर्मला हत्या प्रकरणमा मोटा मान्छेले ज्यानमार्ने धम्की दिएः केसी”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया