तुइन प्रकरण छानविन गर्न समिति गठन, कोरोनाको तेस्रो लहर र विपतबारे खाणद्वारा बबाल निर्णय

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मा तुइन तर्ने क्रममा भएको घटनाको छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्न ५ सदस्यीय छानविन समिति गठन गरेका छन् ।

तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएपछि गृहमन्त्री खाणले गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

आइतबार बसेको बैठकले समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् ।

समितिले १० दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ । गृहमन्त्री खाणले १० दिनभित्र तुइन प्रकरणका विषयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

साउन १५ गते बिहान खाङदाङ माल बस्ने जयसिंह धामीसहितका व्यक्तिहरू दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट र भारतको गस्कुबाट तुइनको प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका व्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामी तुइनको तारसंगै महाकाली नदीमा बगी बेपत्ता भएका थिए ।

गृहमन्त्री खाणको कार्यकक्षमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपानेसहित तीन वटा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

बैठकले कोभिड–१९ को खोप व्यवस्थापन तथा नयाँ भेरियन्टसहितको कोभिङ–१९ को तेश्रो लहरको सम्भावनालाई दृष्टिगत गरी संक्रमण रोकथाम नियन्त्रण र उपचार एवम् व्यवस्थाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

स्वास्थ्य संस्थाहरूको सुदृढीकरण गर्न तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउन र सेवाप्रदायक निकायहरूमा सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पालना गरेर मात्र कार्यालयमा प्रवेश गराउने व्यवस्था गर्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्री, गृह सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, मेलम्ची खानेपानी आयोजनाका प्रमुख एवं स्थानीय पूर्वाधार विकास कार्यक्रमका प्रमुखसहितको उपस्थितिमा हालसालै मनसुनजन्य विपदबाट प्रभावित सिन्धुपाल्चोक, मनाङ, गोरखालगायतका जिल्लामा भएका भौतिक क्षतिका विषयमा छलफल भएको छ ।

मेलम्ची क्षेत्रका अवरुद्ध सडक मार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यथाशीघ्र सुचारु गर्ने, सडक विभागले प्रभावित जिल्लामा क्षति भएका पुलपुलेसाहरूको विकल्पमा तत्काल बेलीब्रिज जडान गर्ने व्यवस्था मिलाउने, सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणले विज्ञ टोली खटाई प्राविधिक प्रतिवेदनसहित आवश्यक कार्य अगाडि बढाउने सम्बन्धमा छलफल भई विज्ञसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2021 August 1, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया