कोरोना तीब्र रुपमा बढ्यो, नाका र हवाइ उडान पनि रोक्न प्रस्ताव
काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसको जोखिम बढेको भन्दै कोरोना रोकथामका लागि यसअघि गरेका निर्णयको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको सीसीएमसीको बैठकले स्वास्थ्य व्यवस्था थप बलियो बनाउनुपर्ने निर्णय गरेको हो ।
सीसीएमसीले कोरोनाको दोस्रो लहरले जोखिम बढाउँदै गएको निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि र थप फैलिनबाट रोक्ने निर्णय गरेको छ ।
सीसीएमसीले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्ने र कटौती गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।
मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय उडान, जोखिम भएका मुलुकहरूबाट हुने उडानलाई हालका लागि रोक्न सिफारिस गरिएको बताए ।
उनले आन्तरिक उडानहरूलाई पनि कटौती गर्ने वा रोक्ने सिफारिस गरिएको बताएका छन् ।
सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषदले पारित गरेपछि कार्यान्वयनमा जानेछ ।
भारतमा कोरोनाको नयाँ भेरियन्टको संक्रमणले समस्या उत्पन्न गराएको छ । सरकारले कोरोनाको महामारीका बेला पनि भारतबाट नेपाल आउने उडान रोकेको छैन ।
भारतसँगका सीमा नाकाबाट हुने आवतजावत सीमित गर्ने निर्णय लिन पनि सीसीएमसीले मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको छ ।
३५ नाकाबाट आवतजावत भइरहेकोमा त्यसलाई सीमित गरेर १३ नाकाबाट मात्रै आवतजावतको अनुमति दिने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।
भारतसँग खुला गरिने भनिएका काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकीमा क्वारेन्टाइनसहित खुला राख्नका लागि सिफारिस गरिएको छ ।
सीसीएमसीको बैठकले स्वास्थ्य सामग्रीको आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन पनि पहल गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा लागू गरिएका जिल्लामा मापदण्ड पालना गराउन कडाइ गर्ने निर्णय पनि सीसीएमसीले लिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया