कोरोना नियन्त्रण र रोकथाममा लाग्न आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी कोरोना नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरू सक्रिय रुपमा लाग्न निर्देशन दिएका छन् ।

उपत्यकास्थित प्रहरी कार्यालयका प्रमुखहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच निर्देशन सम्बोधन गर्दै क्षेत्रीले कोभिड–१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गराउनु प्रहरीको प्रमुख दायित्व रहेको बताए ।

यसका लागि अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य र अनुगमनमा तिब्रता दिनुपर्ने उनले बताए ।

संगठनले तय गरेका नीति तथा योजनाहरुलाई व्यवहारमा लागू गर्दै परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्ने आईजीपी क्षेत्रीले बताएका छन् ।

क्षेत्रीले सम्भाव्य चुनौती सामना गर्न बैकल्पिक व्यवस्थालाई थप प्रभावकारी बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने बताए ।

कोभिड नियन्त्रणमा अपनाइने मास्क, स्यानिटाइजरको प्रयोग लगायतका सम्पूर्ण सुरक्षा विधिहरूको पूर्ण पालना गर्ने तथा उपचार व्यवस्थापन चुस्त राख्न समेत उनले निर्देशन दिएका छन् ।

Published : Sunday, 2021 April 25, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया