ओलीबाट देश चल्दैन, कांग्रेसको सरकार बनाउन पहल भइरहेको छः डा.महत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले केपी ओलीको सरकार हटाउन कांग्रेसले प्रयास गरिरहेको बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिक– १ मा निर्मित गुम्बा पार्कको आइतबार उद्घाटन गर्ने क्रममा डा.महतले ओलीलाई सरकारबाट हटाउन कांग्रेसले प्रयास जारी राखेको बताए । उनले चाँडै नै निर्वाचन हुने पनि बताएका छन् ।

सह–महामन्त्री डा.महतले कांग्रेसको नेतृत्वमा सरकार बनाउन अन्य दलहरूलाई सहयोगका लागि आग्रह गरेका छन् ।

उनले कांग्रेसको नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताए । स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने डा.महतले बताए ।

कांग्रेसले मात्रै सरकार बनाउन नसक्ने उनले बताएका छन् । ‘हामीले भनेर मात्र हुँदैन’, उनले भनेका छन्, ‘संख्या पुग्यो भने सरकार बनाउँछौं ।’

सह–महामन्त्री डा.महतले कांग्रेस कामप्रति समर्पित हुने पार्टी भएको बताए । कम्युनिस्टले जस्तो कांग्रेसले झुठ नबोल्ने उनले बताए । डा.महतले ओली सरकारले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

डा.महतले धरहराको काम पूरा नगरी ओलीले उद्घाटन गरेकोमा असन्तुष्टि जनाए । उनले काम पूरा गरेर उद्घाटन गर्नुपर्ने सुझाव दिए ।

ओलीले आफूलाई भीमसेन थापासँग तुलना गरेकोमा डा.महतले विरोध जनाएका छन् । उनले भने, ‘कहाँ भीमसेन थापा, कहाँ केपी ओली ?’

उनले जनताले पत्याएर पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको तीन वर्षमै कम्युनिस्ट सरकारमा मारामार चलेको बताए । सह–महामन्त्री डा.महतले अब कम्युनिस्टहरूलाई जनताले हराउनैपर्ने बताएका छन् ।

कम्युनिस्टहरूले देशको बजेट र राजश्वमा कसको हात हाल्ने भनेर मारामार गरेको उनले बताए । त्यही विवादमा पार्टी फुटेको उनले बताएका छन् ।

कार्यक्रममा पूर्वसांसद राजिव विक्रम शाह, सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामा, इन्द्रवती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, वडाध्यक्ष श्री लामा, आइतमान तामाङ ‘मिलन’ लगायतको उपस्थिति रहेको थियो । गुम्बा पार्क ४६ लाख ६९ हजार लागतमा निर्माण भएको छ ।

Published : Sunday, 2021 April 25, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया