‘रअ’को समाचार लेख्ने सञ्चारकर्मीलाई कम्युनिस्ट सरकारद्वारा पक्राउ, महासंघद्वारा आन्दोलनको धम्की

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले काठमाडौंबाट दुईजना सञ्चारकर्मीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका नायक उपरीक्षक (डीएसपी) वी सुवेदीको टोलीले उज्यालो नेटवर्कको कार्यालयमा छापामारेर सम्पादक विवेक लोप्चनलाई आइतबार पक्राउ गरेको हो । प्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धराबाट पक्राउ गरेको छ ।

पक्राउ गर्ने क्रममा प्रहरीले सम्पादक तामाङको क्यमरा र मोबाइल समेत खोसेको उज्यालो नेटवर्कले जनाएको छ ।

उज्यालो नेटवर्क नामक अनलाइनले केही समय अगाडि भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री खड्गप्रसाद ओलीबीच चार बुँदे सहमति भएको भन्दै एउटा डकुमेन्ट सार्वजनिक गरेको थियो । सो डकुमेन्ट फेक रहेको भन्दै ओलीको सचिवालयले विरोध गरेको थियो ।

सो डकुमेन्ट र समाचारलाई लिएर प्रेस काउन्सिल नेपालले अनलाइनसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो ।

समाचार र डकुमेन्ट असावधानीबस समाचार प्रकाशन भएको भन्दै उज्यालो नेटवर्कले क्षमा मागेको थियो ।

प्रहरीले समाचार लेखेको आधारमा पत्रकार पक्राउ गर्न खोजेपछि उच्च अदालत पाटनले सरकारलाई पत्रकारलाई पक्राउ नगर्नुभन्ने आदेश दिएको थियो ।

यसैबीच, नेपाल पत्रकार महासंघले उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङसहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ’, महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ’, महासंघले भनेको छ, ‘यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संबैधानीक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।’

‘त्यतिमात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रष्ट भएको छ’, महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टि जनाउने त्यसका निश्चित विधि र प्रक्रिया छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भन्ने महासंघको ठम्याइ छ’, महासंघको विज्ञप्तिमा भनिएको छ ।

‘प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रिहाइ गर्न र यस्ता कार्य तत्काल बन्द गर्न नेपाल पत्रकार महासंघ नेपाल सरकार र त्यस मातहतका सबै निकायको ध्यानाकर्षण गराउँदछ’, महासचिव पुरीले भनेका छन् ।

‘अन्यथा महासंघ आन्दोलनमा जान बाध्य हुनेसमेत चेतावनी दिन चाहन्छ’, महासंघले भनेको छ ।

Published : Sunday, 2021 April 25, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया