पूर्वराजाले जति पनि ओलीले स्वास्थ्य मापदण्ड पालना गरेनन्, पूर्वराजा–रानी अस्पताल भर्ना

काठमाडौं । कोरोनाभाइरसको संक्रमण भएपछि होम आइसोलेसनमा बसेका पूर्वाजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् ।

शाह दम्पत्तिलाई शनिबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पूर्वराजा र पूर्वरानीलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

पूर्वराजाका सचिव फणिराज पाठकले पूर्वराजदम्पतीसँगै छोरी प्रेरणा शाह पनि शनिवार दिउँसो अस्पतालमा भर्ना भएको जानकारी दिएका छन् ।

चिकित्सकहरूकै सल्लाहमा पूर्वराजा र पूर्वरानी एवम् छोरी प्रेरणालाई दिउँसो १ बजे अस्पताल भर्ना गरिएको पाठकले बताए । ‘उहाँहरूको स्वास्थ्यमा त्यस्तो कुनै जटिलता देखिएर भर्ना हुनुभएको होइन’, पाठकले भनेका छन् ।

पाठकले भने, ‘अस्पतालमा भएपछि हेरचाह पनि राम्ररी हुने भएर जानुभएको हो ।’ भारत भ्रमणबाट फर्किएका पूर्वराजदम्पतीमा कोरोनाभाइरस संक्रमण देखिएको मङ्गलवार पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमा आइसोलेसनमा बस्दै आएका थिए । कुम्भमेलामा सहभागी भएर आइतवार उनीहरू नयाँदिल्लीबाट नेपाल फर्किएका थिए ।

कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए । भारतमा कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।

पूर्वराजाले नेपाल फर्किनुअघि नयाँदिल्लीमा कोरोनाभाइरसको पीसीआर परीक्षण गराएका थिए । त्यस बेला संक्रमण देखिएको थिएन ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली स्वास्थ्य मापदण्डहरू उल्लंघन गरिरहेका बेला पूर्वराज परिवार भने स्वास्थ्य मापदण्ड पालना गरिरहेको छ ।

ओलीले स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै शनिबार धरहरण उद्घाटन गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटीको बैठक बालुवाटारभित्र राखेका थिए ।

Published : Saturday, 2021 April 24, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया