काम पूरा नहुँदै ओलीले हतारमा उद्घाटन गरेको धरहरा तत्काल चढ्न नदिने
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले निर्माण हुँदै गरेको धरहरा शनिबार उद्घाटन गरे पनि तत्काल सर्वसाधारण चढ्न नपाउने भएका छन् ।
निर्माणको काम जारी रहेकाले सर्वसाधारणलाई धरहरा चढ्न कम्तिमा पनि एक वर्ष लाग्नेछ । एमालेभित्रको अन्तरिक द्वन्द्व र राजनीतिक अस्थिरताका कारण कति बेला ओली सरकार ढल्ने हो थाहा छैन । सरकार ढल्नुभन्दा अगाडिनै ओलीले धरहरा उद्घाटन गर्न लागेका हुन् ।
निर्माणको काम पूरा नहुँदै ओलीलाई किन धरहरा उद्घाटन गर्न मन लागेको हो केही भनिएको छैन ।
धरहरा त ठडिएको छ तर यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन ।
धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले धरहराको फेदमा अझैसम्म थुप्रै संरचना निर्माणका क्रममा रहेको र क्रमशः तिनीहरूको निर्माण हुँदै जाने बताएका छन् ।
प्राधिकरणले बनाइरहेको धरहरा क्षेत्रमा भूमिगत पार्किङ, बगैंचा, संग्रहालय लगायतका अन्य संरचनाको निर्माण भइरहेको छ ।
भीमसेन थापाका पालामा बनेको धरहराकै स्वरुपमा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाइएको नयाँ धरहरा चढ्नका लागि तयार भएको छ ।
ओलीले हतार–हतार धरहरा उद्घाटन गरिए पनि सर्वसाधारणका लागि भने खुला हुनेछैन ।
प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले प्रधानमन्त्रीले धरहरा उद्घाटन मात्रै गर्ने बताए । उनले सर्वसाधारणका लागि निर्माण सकिएपछि मात्रै चढ्न दिइने बताएका छन् ।
अहिले बनेको धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा एउटा अर्ध–भूमिगतसहित चारतल्ले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेका छन् ।
‘फुड कोर्ट’सहितको ‘युटिलिटी ब्लक’ पनि निर्माणकै क्रममा रहेको छ । तीनतले भूमिगत पार्किङको पनि व्यवस्था गरिनेछ । ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।
धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिन मुनि दुई तल्लाको भूमिगत संरचना रहेको छ । जमिनमाथि भुईंतलासहित २३ तला गरी समग्रमा धरहरा २५ तल्लाको छ ।
जमिन माथिबाट गजुरसहित धरहराको उचाई ८३.८५ मिटर छ । भूमिगत तल्लासहित जोड्दा ९२.२५ मिटर पुग्छ ।
आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग भएको धरहराभित्र २ वटा लिफ्ट राखिएको छ । लिफ्टबाट एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । धरहरा चढ्न फलामको भर्याङ पनि राखिएको छ ।
धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली राखिएको छ । झन्डै ३ अर्ब ४८ करोडको लागतमा पुरानो धरहराको स्वरुपमा नयाँ धरहरा बनाइएको हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया